बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पुनरुत्थानवादी शक्तिहरु गणतन्त्रको विरुद्धमा नै सल्बलाउन थाले: बाबुराम भट्टराई

दैनिक नेपाल २०८० जेठ २५ गते १६:१६

काठमाडौं, २५ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुनरुत्थानवादी शक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा सल्बलाउन खोजिरहेको बताएका छन् ।

बिहीबारबाट भक्तपुरमा सुरू भएको समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पछिल्लो समय उत्पीडित जाती, आम जनतामा निराशा र असन्तुष्टि बढ्दै गइरहेकोले यसबाट फाइदा लिँदै धमिलो पानीमा माछा मार्न पुनरुत्थानवादी शक्तिहरु गणतन्त्रको विरुद्धमा नै सल्बलाउन खोजिरहेको बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्, जातीय/भाषीक पहिचानका आधारमा प्रदेशहरूको पुन: सीमांकन र नामांकन लगायतका विषय संशोधन नभएसम्म राजनीतिक अस्थीरता र जनताको असन्तुष्टि कायम रहन्छ भन्ने कुरा अहिले व्यवहारत: पुष्टि हुँदै गएको भट्टराईको धारणा छ ।

भट्टराईले दुईपटकको आमनिर्वाचनपछि पनि देशमा राजनीतिक स्थीरता कायम हुन नसकेका कारण सुशासन र आर्थिक–सामाजिक रुपान्तरण हुन नसकेको बताए ।

उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगको काम छिटो सम्पन्न गर्न जरुरी रहेको भन्दै यस्तो हुन नसके देशमा अर्को द्वन्दको खतरा मडारिन सक्ने तर्क गरे ।

लोकतन्त्रका आधारशिलामा टेकेर मात्र समृद्धि र समाजवादको दिशामा अघि बढ्न सकिने भएकाले यस बिषयमा पार्टीको बैठकले बिशेष निर्णय गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित