बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

दैनिक नेपाल २०८० जेठ २५ गते १६:०४

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालसम्म चल्दै आएको मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार बुटवलमा लुम्बिनी केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्मका विकासका प्रयासबाट उत्पादन र रोजगारीको क्षेत्रको प्रगति उत्साहजनक नभएको भन्दै विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले उनीहरूलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा आफू रहेको बताए । प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

मुलुकको अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी निजी क्षेत्रका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेटेको प्रचण्डले बताए ।

उनले पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने धारणा राखे ।

प्रधानमन्त्रीले हालसालै भारतको औपचारिक भ्रमणका क्रममा पनि नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीहरूलाई आह्वान गरेको बताए ।

वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्य बिना देशमा समृद्धि सम्भव छैन भन्नेमा प्रष्ट रहेकाले लगानी एवं व्यवसायका क्षेत्रमा आउने जस्तोसुकै समस्या पनि हल गर्न तयार रहेको धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित