बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

लिबियाका दिवंगत नेता गद्दाफीका छोरा आमरण अनशनमा

दैनिक नेपाल २०८० जेठ २२ गते १८:०२

काठमाडौं, २२ जेठ । लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिना सुनुवाइ हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन सुरु गरेका छन् ।

उनले लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आफुलाई कुनै मुद्दामाथि सुनुवाई नगरिएको भन्दै आमरण अनशन सुरु गरेको उनका वकिलले बताए ।

सन् २०१५ मा सिरियाबाट अपहरणमा परेका गद्दाफी सन् २०१५ देखि लेबनानको जेलमा रहेका छन । करिब ४५ वर्षअघि लिबियामा बेपत्ता भएका एक शिया धर्मगुरुको भविष्यबारे जानकारी माग्दै लेबनानी लडाकूले उनलाई अपहरण गरेका थिए ।

गद्दाफीलाई पछि लेबनानी अधिकारीहरूले नियन्त्रणमा लिएका थिए र बिना कुनै सुनुवाइ बेरुत जेलमा राखिएको थियो ।

अधिवक्ता पल रोमानोसले बताएअनुसार उनका सेवाग्राही गद्दाफीले शनिबार बिहान भोक हडताल सुरु गरेका हुन् । उनले आन्दोलन अन्त्यसम्म जारी राख्ने बताएको रोमानोसले जानकारी दिएका छन ।

अधिवक्ता रोमानोसले यस मामिलामा सञ्चारमाध्यमसँग विस्तृत विवरण राख्ने अधिकार नभएको भन्दै थप कुरा नगर्ने बताए । यद्यपि, गद्दाफीले एक विज्ञप्ति जारी गर्दै आफ्नो अवस्थाको वर्णन गरेका छन् ।

लेबनानी महिलासँग विवाह गरेका गद्दाफीको विज्ञप्तिमा भनिएको छ, “यतिका वर्षसम्म निष्पक्ष सुनुवाइ बिना नै राजनीतिक बन्दीलाई कसरी राख्न सकिन्छ,

लिबियाली नागरिक रहेका गद्दाफिले आफू भोक हडतालमा रहेको र आफूविरूद्ध अन्यायपूर्ण व्यवहार गर्नेहरू नै नतिजाका लागि जिम्मेवार हुने बताएका छन । उनले ‘बर्तमान् शासक राजनीतिज्ञहरूको हातबाट कानूनलाई मुक्त गर्ने समय आएको’ बताएका छन् ।

रोमानोसका अनुसार आफ्ना सेवाग्राहीलाई वर्षौंसम्म सानो कोठामा हिँडडुल गर्न वा व्यायाम गर्न पनि नमिल्ने गरी राख्दा ढाड दुख्ने समस्या भएको छ ।

सन् १९७८ मा लेबनानका प्रमुख शिया धर्मगुरु मौसा अल–सदर बेपत्ता हुनु लेबनानमा लामो समयदेखि पीडादायी विषय बनेको छ । धर्मगुरुको परिवारले उनी अझै पनि लिबियाको जेलमा जीवितै रहेको हुनसक्ने विश्वास गरेका छन् । यद्यपि अधिकांश लेबनानीहरूले अल–सदरको मृत्यु भएको अनुमान गरेका छन् ।

अल–सदर एक शिया राजनीतिक र सैन्य समूहका संस्थापक हुन् र उनले १९७५ मा सुरु भएको लामो लेबनानी गृहयुद्धमा भाग लिएका थिए ।

इरानको पवित्र शहर कोममा जन्मिएका अल–सदर सन् १९५९ मा लेबनानको दक्षिणी बन्दरगाह शहर टायरमा शियाहरूको अधिकारका लागि काम गर्न आएका थिए । सन् १९७४ मा लेबनानको १५ वर्षे गृहयुद्ध सुरु हुनुभन्दा एक वर्ष अघि अल–सदरले मुभमेन्ट अफ डिप्राइभको स्थापना गरे जसले हजारौं अनुयायीहरूलाई आकर्षित गर्‍यो ।

मुभमेन्ट अफ डिप्राइभको स्थापना भएको अर्को वर्ष उनले अमाल नामक सैन्य एकाईको स्थापना गरेका थिए । अमालको अर्थ अरबी भाषामा आशा हो र यही नामको लडाकू समूहको नाममा उनको समूह लेबनानको गृहयुद्धमा लडेको थियो । यस समूहको नेतृत्व लेबनानको शक्तिशाली संसदका सभामुख नाबिह बेरीले गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित