बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

‘ह्यासट्याग माया’को छायांकन सुरु

दैनिक नेपाल २०८० जेठ २१ गते ९:०२

काठमाडौं, २१ जेठ । ‘थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ (३ माया)को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्यलाई खिच्दै सुरु गरिएको छ ।

चौध दिनको तालिका तय गरिएको चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए । “नेपालको सुन्दरतालाई चलचित्रमार्फत प्रवद्र्धन गर्नुपर्छ भनेर बर्दियाबाट छायांकन प्रारम्भ गरेका हौँ । दुई साता यहाँको रमणीयस्थलमा छायांकन गर्नेछौँ”, उनले भने । यसै चलचित्रमार्फत निर्देशनको सुरुआत गर्नुभएका निर्देशक राजीव गुरुङले कथाअनुसार नै बर्दिया रोजिएको जानकारी दिए ।

“विधा थ्रिलर भएता पनि पूर्ण मनोरञ्जक चलचित्र बन्ने छ । प्रस्तुतीकरणमा विशेष ध्यान दिइरहेको छु”, उनले भने । चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिङ्ह, सुदाम सिकेलगायतको अभिनय रहेको छ । यसको छायांकन काठमाडौँ र धरानमा समेत गरिनेछ ।

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ । यसमा शीर्ष भूमिका निर्वाह गरिरहेकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् ।

“चरित्र निर्माणमा समय खर्चिएकी छु । किनकि यसले हामीलाई चरित्रप्रति इमान्दार बनाउँछ । चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ”, अभिनेत्री श्रेष्ठले भनिन् । रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित