
काठमाडौं, २० जेठ । स्पेनका महान खेलाडी सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्ने भएका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिडबाट पिएसजी आएका रामोसले पिएसजी छोड्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले आफू पिएसजी छोड्ने निर्णयमा पुगेको बताएका छन् ।
‘भोलि एक विशेष दिन हो, भोलि म मेरो जीवनको अर्को चरणलाई बिदाइ गर्नेछु, पिएसजीलाई अलविदा’, रामोसले भनेका छन्, ‘मलाई थाहा छैन घरमा कति ठाउँमा महसुस गर्न सकिन्छ, तर निस्सन्देह पीएसजी, फ्यानहरू र पेरिस मेरो लागि ती मध्ये एक थिए ।’
आज शनिबार राति हुने लिगको अन्तिम खेल खेलेर रामोस पिएसजीबाट बिदा हुने क्लबले जनाएको छ ।
३७ वर्षीय रामोसले रियल म्याड्रिडमा १६ वर्ष बिताएपछि २०२१ को समरमा पीएसजी गएका थिए । उनले म्याड्रिडमा पाँच ला लिगा उपाधि र चार च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
उनले स्पेनका लागि सन् २०१० को विश्वकपको उपाधि जिताएका थिए । स्पेनका लागि १ सय ८० खेलका रामोसले फेब्रुअरीमा अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका थिए ।
रामोसले स्पेनका लागि सन् २००८ र २०१२ को युरो कपको उपाधि पनि जिताएका थिए ।















प्रतिक्रिया