१ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्र लगायत पार्टीमा आबद्ध ७६ जना कलाकार नेकपा एमालेमा प्रवेश

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र)को नाट्यकर्मी संघका वरिष्ठ उपाध्यक्ष जीवन थापा (क्षितिज) सहित ७६ जना कलाकारहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार संघका वरिष्ठ उपाध्यक्ष थापा, महासचिव कृष्णजीत राई, कोषाध्यक्ष सविन न्यौपाने, कोशी प्रदेशका अध्यक्ष ज्ञानेन्द्र कोइराला, मधेश प्रदेशका अध्यक्ष मुनाराज दिवना, बागमती प्रदेशका अध्यक्ष केदार केसी, कर्णाली प्रदेशका अध्यक्ष गणेश उपाध्याय, पूर्व उपाध्यक्ष लता कार्कीसँगै कला, संस्कृति र रंगमञ्चको क्षेत्रमा संलग्न ७६ जना कलाकार एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायत नेताहरूले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा उनीहरूलाई खादा र अबीर लगाई पार्टीमा स्वागत गरेका हुन् ।

एमालेको जनसंगठनका रूपमा रहेको राष्ट्रिय जनसाँस्कृतिक महासंघको संयोजनमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नवप्रवेशी कलाकारहरूलाई पार्टीले दुरूपयोग नगर्ने बताउँदै उनीहरुको प्रतिभा सुन्दर देश बनाउनका लागि सदुपयोग हुने बताए ।

एमाले प्रवेश गर्दै नाट्यकर्मी संघका वरिष्ठ उपाध्यक्ष थापाले माओवादीमा कलाकारलाई हेर्ने दृष्टिकोण सङ्कुचित रहेको, हिंसाको धङधङी बाँकी रहेको र लोकतान्त्रिक प्रणाली स्वीकारेर आइसकेपछि पनि लोकतान्त्रिक विधिमाथि कुठाराघात गर्ने गरेको र त्यहाँ नीतिगत र वैचारिक बहस, छलफलको कुनै सम्भावना नरहेकाले माओवादी पार्टी परित्याग गर्नुपरेको बताए । उनले एमालेको नीति र विचार बोकेर जस्तोसुकै योगदान गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै देशैभरि एमालेमा प्रवेशको लहर ल्याउने अठोट व्यक्त गरे ।

कार्यक्रम राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, शेरधन राई र शिवमाया तुम्वाहाम्फे लगायत नेताहरू उपस्थित थिए ।