शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS : बजेट आयो सङ्कटको समाधान आएन ! राष्ट्रपति र सरकारको आलोचना

दैनिक नेपाल २०८० जेठ १५ गते २१:४७

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

त्यसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले ल्याएको बजेटले वर्तमान आर्थिक सङ्कटको समाधान गर्न नसक्ने प्रमख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रिया दिएका छन् ।

यस्तै, टीकापुर घटनाको जघन्य अपराधमा दोषी ठहर भइ जेल सजाय काटिरहेका रेशम चौधरीलाई आममाफीको सिफारिस गर्ने सरकार र स्वीकृत गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको चौतर्फी विरोध सुरू भएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

१. अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक, चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड बजेट विनियोजन ।

२. बजेट वक्तव्यमार्फत सरकारले पुन: ब्युँतायो सांसद विकास कोष, श्रम तथा रोजगारको बजेट कटौती गरेर कृषिमा बढायो, वृद्धभत्ता नबढाए पनि दियो निरन्तरता ।

३. जघन्य अपराधमा दोषी ठहर भइ जेल सजाय काटिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयको चौतर्फी आलोचना सुरू, टीकापुर घटना राजनीतिक भएकाले निष्पक्ष छानबिनका लागि पुन: प्रक्रिया सुरू गर्नुपर्नेमा चौधरीको जोड ।

४. नेपालले प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्वमा फड्को मारेको सरकारको भनाइ, गणतन्त्र स्थापनाको १५ वर्षमा २२ हजार बढीले आरक्षण कोटाबाट लोकसेवामार्फत सरकारी सेवामा प्रवेश गरेको तथ्याँक सार्वजनिक ।

५. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली मन्त्रिपरिषदबाट स्वीकृत, १७ गते भारत भ्रमणका लागि जाने टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुँदै ।

६. आन्दोलनरत पहिचान पक्षधरलाई हिंसात्मक आन्दोलन गर्न छोडेर वार्तामा आउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आह्वान, संवादबाटै समस्याको समाधान खोज्न आग्रह ।

७. विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्ट्याउने षड्यन्त्र भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, संविधान कार्यान्वयनमा देखिने कमजोरीलाई आधार बनाएर व्यवस्थाप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल नहुने धारणा व्यक्त ।

८. लोकतान्त्रिक गणतन्त्र जनता स्वयम् मालिक बन्ने सुन्दर शासन प्रणाली भएकाले मजबुत बनाएर गरिबी र पछौटेपनविरूद्धको लडाईं जित्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, मुलुकको मालिक जनता बन्ने प्रणालीको बिकल्प राजतन्त्र हुननसक्ने भनाइ ।

९. रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको कांग्रेस महामन्त्री गगन थापाको भनाइ, कानुनले बन्दोबस्त गरेभन्दा बाहिर कोही पनि जान नमिल्ने धारणा ।

१०. आगामी आर्थिक वर्षमा ११० स्थानीय तहका २५ हजार दलित भूमिहीनलाई भूमिपुर्जा बाँड्ने सरकारको योजना, मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाट प्रदान गरिने ।

११. राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद विन्दवासिनी कंसाकारद्धारा सपथ ग्रहण, एसिड आक्रमणबाट पीडित व्यक्तिलाई सांसद पदको रुपमा पाउँदा निकै गर्व महशुस भएको सभापति रवि लामिछानेको भनाइ ।

१२. लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको तयारी, अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन नै बन्द गरिने ।

१३. सबै स्थानीय तहमा ‘राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने सरकारको घोषणा, कार्यक्रमको निर्देशिका साउनभित्र तर्जुमा गर्न ७ अर्ब रुपैयाँ बजेट विनियोजन ।

१४. बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको गोप्य बैठकपछि मस्कोको अस्पताल भर्ना, लुकासेन्कोको अवस्था गम्भीर रहेको दाबी ।

१५. मलेसियाको बाग्नीमा भएको पहिलो टी–२० मा नेपालको महिला टिम पराजित, मलेसिया ५ विकेटले विजयी ।

प्रतिक्रिया
सम्बन्धित