शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सानो गाउँ वजनदार गाउँ ‘गोथल्स साइडिङ’

दैनिक नेपाल २०८० जेठ १४ गते १०:१२

खरसाङ (भारत), १४ जेठ । दार्जीलिङ पहाडी भेकको एउटा सानो गाउँ गोथल्स साइडिङ एउटा यस्तो ठाउँ हो, जसको सम्बन्ध भारतीय हक्की खेलसँग गाँसिएको छ ।

सन् १९५२ मा हेलसिन्कीमा भएको ओलम्पिकमा स्वर्ण पदक जित्ने भारतीय हक्की टोलीका एक दिग्गज खेलाडी चमनसिंह गुरुङ (सी.एस. गुरुङ) यसै गाउँका हुन् । खरसाङ बजारदेखि करिब ५ किलोमिटर टाडोमा अवस्थित यो सानो गाउँ गोथल्स साइडिङ आज उदाहरणीय गाउँको रुपमा अग्रगामी पथमा लम्किसकेको छ । गोथल्स साइडिङ नवीन ग्राम सुधार समाज गतिशील हुनुको कारणले नै यो गाउँ उदाहरणीय बन्दै अघि बढिरहेको छ ।

नवीन ग्राम सुधार समाजले कयौं हुरीबतास, आँधीबेरी, घामपानी झेलेर गाउँको जनजीवनलाई परिष्कृत, विकसित बनाउने मार्गमा डोर्‍याउँदै ल्याएको यसपाली पचास वर्ष पूरा भएको छ । नवीन ग्राम सुधार समाजको स्वर्ण जयन्तीको कार्यक्रम २७ मे शनिबार समाजकै निजी समाज घरमा भव्य रुपमा हर्षोल्लासका साथ मनाइएको छ ।

यस स्वर्ण वर्षको अवसरमा समाजले आफ्नो स्मारिका प्रकाशित गरेको छ । समाजका अध्यक्ष वीरेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि जीटीएका सूचना एवं सांस्कृतिक विभागका सभासद अनोश थापा, विशिष्ट अतिथिहरू सभासद नुरी शेर्पा, गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष आशा लामा मुखिया, खरसाङ गोर्खा हिल स्पोर्ट्स एशोसिएशनका सचिव निर्मल गुरुङ, सुपरिचित उद्घोषक उमेश कार्की डोलीको बाहुलीबाट समाजको स्मारिका विमोचन गरिएको थियो ।

नेपाली र अंग्रेजी भाषामा प्रकाशित गरिएको यो स्मारिकाको प्रमुख सम्पादक अमित लम्जेल सार्की रहेका छन् । नेपालीको सम्पादक रेश्मा दियाली थापा हुन् भने समन्वयक अल्फन्स लेप्चा रहेका छन् । अंग्रेजी भागका सम्पादक विशाल सार्की हुन् । यस स्मारिकामा गोथल्स साइडिङ, नवीन ग्राम सुधार समाजको बारेमा लेखहरू छन् भने संस्मरणका साथमा कविताहरू पनि समेटिएका छन् ।

नवीन ग्राम सुधार समाजले गाउँ हरेक विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्न सम्बर्धना जनाउने परम्परा बसालेको छ । यसै स्वर्ण जयन्तीको कार्यक्रममा माध्यमिक र आईसीएसई परीक्षामा अब्बल दर्जा हासिल गर्ने विद्यार्थीहरूलाई सम्बर्धना जनाइएको छ । सानो गाउँ गोथल्स साइडिङले भारतीय नेपाली समाजलाई धेरै होनहार वजनदार व्यक्तिहरू दिन सफल भएको छ ।

कार्यक्रममा नेपाली समाजका विशिष्ट व्यक्तित्वहरू बीएसएफका अवकाश प्राप्त डेपुटी कमान्डेन्ट कृष्णबहादुर सार्की (सन् १९७१ र कारगिल युद्धका योद्धा- पूर्व प्रधानमन्त्री स्व. राजीव गान्धीद्वारा पुलिस मेडलले सम्मानित), स्व. चमनसिंह गुरुङ (ओलम्पिक स्वर्ण पदक विजेता), आईएस अधिकारी डनबस्को लेप्चा, डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस (डीएसपी) दिलकेशर सार्की, भारतीय सेनाका मेजर सन्दीप छेत्री, आकाशवाणी सिलगढीका प्रोग्राम एक्जेक्युटिभ, स्टेसन सुपरिटेन्डेन्ट निमा डोमा तामाङ (विद्युत विभाग पश्चिम बङ्गाल), सफ्टवेयर इन्जिनियर अन्जिता लोम्जेल (इंग्ल्याण्ड सरकार), योगिता सार्की (पीएचडी- बायो टेक्नोलोजी) लाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रेमुश भुटियाले दुर्व्यसन बारे सचेतनामूलक आफ्नो प्रस्तुती दिए । नवीन ग्राम सुधार समाजले विभन्न सामाजिक कार्यहरूका साथमा दुर्व्यसन, मानव तस्करीजस्ता जल्दाबल्दा सामाजिक समस्याहरू विरुद्ध अभियान चलाउँदै जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गर्ने गरेको छ । यसका साथै गाउँमा स्वास्थ्य शिविरहरूका साथमा रक्तदान शिविरहरू पनि आयोजना गर्ने गरेको छ ।

समाजले मानव मूल्यलाई प्रमुखता दिँदै आफ्नो गाउँ बाहेक आपत्–विपत्  परेका अन्य गाउँहरूमा पनि राहतहरू सहयोग गर्ने गरेको छ । रेश्मा दियाली थापाद्वारा सञ्चालन गरिएको यस स्वर्ण जयन्तीको कार्यक्रममा गाउँकै कलाकारहरूले रमाइला गीत र नृत्यहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित