शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बागमती प्रदेश खेलकुदमा काठमाडौं च्याम्पियन

दैनिक नेपाल २०८० जेठ १४ गते ५:४२

हेटौंडा, १४ जेठ । दोस्रो बागमती प्रदेश खेलकुद २०८० मा काठमाडौं टीम च्याम्पियन बनेको छ । प्रतियोगितामा काठमाडौंले ३१ स्वर्ण, २२ रजत र २५ कास्य पनि जित्न सफल भयो ।

डिफेन्डिङ च्याम्पियन चितवन दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो भयो । चितवनले २३ स्वर्ण, २४ रजत र २५ कास्य तथा काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कास्य पदक प्राप्त गरेका छन् ।

विजेता टोलीलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम मुख्यमन्त्री जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरे ।

चार जिल्लामा प्रतिस्पर्धा गराइएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कूल एक सय ६८ स्वर्ण पदक गणना भएको थियो । बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र कास्य विजेताले क्रमश : पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार पाएका छन् ।

फुटबलमा मकवानपुर च्याम्पियन

दोस्रो बागमती प्रदेश खेलकुदको अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबलमा मकवानपुर च्याम्पियन भएको छ ।

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा शनिबार सम्पन्न फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन भएको हो ।

खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित रच्न सफल भएको थियो । मकवानपुरका निर्मल बल र काठमाडौंका खेमराज तामाङको प्रहार गोलमाथि परिणत हुन सकेन ।

मकवानपुरले त्यसपछिको प्रहारमा गोल गर्दा काठमाडौंको तीन प्रहार मात्र गोलमा परिणत भयो । मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रितम स्याङ्बोले गोल गरे ।

काठमाडौंका लागि वाङ गुरुङ, कब्बु कन्दवा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो । चौथो पेनाल्टी प्रहार गर्न आएका काठमाडौंका विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले स्वर्ण जित्न सफल भएको हो । चितवनका कप्तान प्रितम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित भएका छन्  ।

प्रतिक्रिया
सम्बन्धित