
भक्तपुर, ९ जेठ । चाँगुनारायण नगर अस्पताल र मध्यपुर थिमी नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेको कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा विशेषज्ञ सहितको सेवा विस्तारमा सहकार्य हुने भएको छ ।
दुबै अस्पतालका बीचमा एक कार्यक्रमबीच विशेषज्ञसहितको सेवा विस्तारमा सहकार्य पुर्याउनका लागि सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।
चाँगुनारायण नगर अस्पतालको प्राङ्गणमा आयोजित बृहत् विशेषज्ञ स्वास्थ्य शिविर उद्घाटन समारोहमा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री र मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख एवम् कोरियामैत्री नगरपालिका अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले चाँगुनारायण नगरपालिकासँग स्वास्थ्य सेवाको क्षेत्रमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले स्थानीय निकायहरूबीच सहकार्य गरी सेवा तथा प्रविधि आदानप्रदान गर्न सकेमा नगरबासीहरू लाभान्वित हुने बताए ।

२०३९ सालमा स्वास्थ्यचौकी, २०५८ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०७७ मङ्सिर २८ गतेदेखि चाँगुनारायण अस्पतालको रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालमा दैनिक ओपीडी सेवा सञ्चालन गरिदै आएको थियो । अबदेखि साप्ताहिक रूपमा हाड जोर्नी विशेषज्ञ, बाल रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञलगायत सेवा प्रदान गरिने अस्पतालका मेडिकल अधिकृत शैलेस तवानाबासुले जानकारी दिए ।













प्रतिक्रिया