
काठमाडौं, ९ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल प्रवेशका लागि आज मंगलबार चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने पहिलो क्वालिफायर खेलमा चेन्नई र गुजरातबीच प्रतिस्पर्धा हुन लागेको हो ।
खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ । जारी आईपीएलमा गुजरात शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।
आजको खेलको विजयी टिम सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।
पराजित टिमले दोस्रो क्वालिफायरमा लखनउ सुपर जाइन्टस र मुम्बई इण्डियन्सबीचको विजयी टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
जारी आईपीएलमा लखनउ तेस्रो र मुम्बई चौथो बन्दै प्लेअफमा पुगेको थियो ।
लखनउ र मुम्बईबीचको खेल मे २४ अर्थात भोलि हुनेछ भने दोस्रो क्वालिफायर खेल २६ मे शुक्रबार हुनेछ ।
प्रतियोगिताको फाइनल खेल भने मे २८ गते अर्थात आउँदो आइतबार हुनेछ ।















प्रतिक्रिया