
काठमाडौं, ५ जेठ । स्वास्थ्य मन्त्रालयले दुई वर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरणहरुलाई फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पतालमा पठाउने भएको छ ।
स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले आज शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कुनै अस्पतालमा दुई वर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग हुन नसक्ने स्वास्थ्य उपकरणहरुलाई स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गरिने जानकारी दिएका हुन् ।
त्यस्तै उनले स्थान नभएर वा जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पताललाई स्पष्टीकरण सोधिने जानकारी दिए । अब स्वास्थ्य उपकरणहरु खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औँल्याए अनुसारका सामग्री मात्रै मन्त्रालयको समन्वयमा खरिद गर्ने, प्रत्येक अस्पताललाई आगामी दुई वर्षको कार्ययोजना बनाएर पेश गर्न लगाउने र सो अनुसार आवश्यक उपकरण मात्रै खरिद गर्ने मन्त्री बस्नेतले बताए ।
उनले स्वस्थ्य सेवा विभागलाई खरिद एवम् वितरण प्रक्रियालाई थप व्यवस्थित गर्न र सबै अस्पतालको उपकरण जाँच गर्न निर्देशन दिएका छन् । मन्त्री बस्नेतले सबै संघीय अस्पतालमा ओपीडी अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन पनि निर्देशन दिएको बताए ।
मन्त्री बस्नेतले आफ्नो जेनेभा भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्र राष्ट्रहरु, दाताहरु तथा सम्बद्ध निकायहरुसँग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवम् सुधारका बारेमा छलफल हुने जानकारी दिए ।













प्रतिक्रिया