शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मदनसँग म

शंकर पोखरेल २०८० जेठ ३ गते १०:०७

काठमाडौं, ३ जेठ ।  पाँचौ राष्ट्रिय महाधिवेशनको समय थियो । महाधिवेशनको प्रचारप्रसार कमिटीको संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिए । महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो ।

विचारको खुला बहस सञ्चालन गरिएको उक्त महाधिवेशको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरतमोहन कमरेडसँग राखेको थिए । भरतमोहन कमरेडले त्यसमा सहमती जनाउँदै मदनसँग कुरागर्ने जिम्मेवारी मलाई नै सुम्पनु भयो । म वडो उत्साहकासाथ उहाँ वस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईहरु जस्ता साथिहरुलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्विकार गर्नु भयो ।

उहाँले म अहिले दस्तावेज माथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नु भो । अनि उहाँले तपाई आफैले लेख्नुहोस् । बरु प्रकाशन गर्नुपूर्व मलाई देखाउनुहोस् भन्नु भयो । मैले पनि मदन कमरेडको सुझाव अनुरुप उत्साहकासाथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाए । उहाँले अपिल पढेर विना कुनै संशोधन प्रकाशनका लागि अनुमती दिनु भयो । विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसागर्ने उहाँको शैली बेजोड थियो । सोही महाधिवेशनका सन्दर्भको मदन कमरेडसँगको अर्को प्रसंग पनि बढो रोचक छ ।

महाधिवेशनमा जनताको बहुदलीय जनवाद पार्टीको कार्यक्रमरुपमा प्रस्तावित थियो । पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतबाट उक्त कार्यक्रम छलफलको आधिकारीक दस्तावेज बन्न पुगेको थियो । पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरुसमेत बहसका बेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नु भएको थिएन ।

पूर्वको विराटनगर देखि खुला बहस आरम्भ गरिएको थियो । चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठुलो पंक्ति पक्षमा देखिसकेको थियो । चितवनको बहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनु भएछ । मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर बोल्न तयार भएकोले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनु भयो । उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुको भेला आयोजना गरेर माधवकुमार नेपाललाई बोल्ने लगाइएको थियो । सोही भेलामा पहिलो पटक माधव कमरेड खुलेर जबजका पक्षमा बोल्नु भएको थियो ।

पाँचौ राष्ट्रिय महाधिवेशनवाट जनताको बहुदलीय जनवाद अत्याधिक बहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा पारित भयो । पारित गराउने कुरामा समेत माधव कमरेडको सकृयता विशेष रह्यो । जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको बहुदलीय जनवाद यतिबेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त बन्न पुगेको छ । सुरुको अवधिमा जबजको विचारले पार्टी भित्र समर्थन प्राप्त गर्न भएको त्यसप्रकारको कठिनाई भएको सम्झदा अनौठो अनुभूती हुन्छ ।

आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औँ स्मृति दिवस । स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिष्ट आन्दोलनका नविन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली ।

(शंकर पोखरेल एमाले महासचिव हुन् ।)

प्रतिक्रिया
सम्बन्धित