बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सङ्कटको पहिचान र समाधानको उपाय

शंकर पोखरेल २०८० जेठ २ गते २२:५१

शंकर पोखरेल

जतिबेला नेकपा एमाले बलियो बन्छ र राम्रो काम गर्न सुरु गर्छ त्यतिबेला त्यतिबेला नेकपा एमालेभित्र अन्तरसंघर्ष बढेको/बढाइएको र विभाजनको पीडा बेहोर्नु परेको छ ।

राम्रो काम गर्दा विभाजनको पीडा बेहोर्नु पर्दा जनता र कार्यकर्तामा नेतृत्व असफल भएको लाग्नु स्वाभाविक नै हो । तर, काम गर्न खोज्ने प्रमुख नेतृत्वको पीडा पनि आफ्नै खालको छ ।

यस्तो स्थिति एमालेका हकमा मात्र होइन, नेपाली कांग्रेसभित्र पनि उस्तै छ । यद्यपि, कांग्रेसमा उदारवादी यथास्थितिवादतर्फको झुकाउ बढेका कारणले उसको कार्यकर्ता पंक्ति र समर्थकमा भने नेकपा एमाले पंक्तिको जस्तो पीडाको अनुभूती कम देखिन्छ ।

ठूला–ठूला संघर्ष र बलिदानको संघर्षबाट हुर्केका नेता र पार्टीभित्रको त्यो पीडा उनीहरूको मात्र कमजोरी ठान्नु ठूलो भुल हुनेछ । त्यसमा भूराजनीतिक स्वार्थहरूको प्रभाव बढी छ ।

नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्ने वाह्य शक्तिहरूको चलखेलले नेपाली राजनीति अस्थिर बनेको छ ।

नियोजित रूपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र बाटो समात्न सकेको देखिदैन ।

तर, नेपाली राजनीतिको विकल्पका रूपमा अघि सार्न खोजिएको पपुलिष्ट राजनीतिले राजनीतिक सङ्कटको समाधान दिने कुनै सम्भावना नै छैन । बरु त्यो भूराजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना बढी रहन्छ । पछिल्लो चुनाव पछिको सत्ता राजनीतिक संघर्षको विश्लेषण गर्ने हो भने त्यस्तै भइरहेको छ ।

राजनीति सही नीति, कार्यक्रम र संगठनको बलमा अघि बढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने एजेण्डाभित्र नै खोज्नुपर्ने हुन्छ । राजनीतिलाई त्यसकै वरिपरि ध्रुवीकृत गर्नुपर्ने हुन्छ ।

नयाँका नाममा पपुलिष्ट राजनीतिक गरिरहेकाहरूले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगत रूपमा स्पष्टता दिन सक्नु पर्दछ । सधैंभरी पपुलिष्ट कुरा गरेर समाजलाई सही गन्तव्यमा पुर्‍याउन सकिदैन ।

नेपाल जस्तो मुलुकमा उदारवादले व्यापारिक पुँजीवादलाई प्रश्रय दिने काम गर्दछ । त्यसको लाभ आम जनताले पाउन सक्तैन । त्यसबाट दलाल नोकरशाही पुँजीवाद नै लाभान्वित बन्न पुग्दछ । नेकपा एमालेलाई परमादेशबाट हटाएपछिको पाँच दलीय सरकारले अवलम्वन गरेको नीति उदारवाद नै हो । त्यसको परिणाम के हुँदो रहेछ हामीले चरम आर्थिक सङ्कटका रूपमा भोगिरहेका छौँ ।

समाजवाद हाम्रो जस्तो मुलकमा स्वाधीन अर्थतन्त्र निर्माणको बाटो हो । तर अहिलेकै अवस्थामा नेपाली समाजले समाजवादी कार्यक्रम लागू गरिहाल्न सक्ने अवस्था पनि छैन । यस्तो अवस्थामा समाजवाद उन्मुख आर्थिक समाजिक विकासको बाटो नै उपयुक्त वाटो हो । तर, त्यसका लागि पनि बलियो राष्ट्रिय शक्तिका रूपमा समाजवादका पक्षधर शक्ति सुदृढ हुनु पर्दछ ।

अहिले जस्तो नेपाली समाज विचारधाराका आधारमा केन्द्रीकृत र ध्रुवीकृत नहुने हो भने बलियो राष्ट्रिय शक्तिको विकास हुन सक्तैन । आजको सङ्कटको समाधान पनि हुन सक्तैन । त्यसैले जनमतलाई विभाजित हुनबाट जोगाउँ ।

विचारधाराको जगमा जनमतलाई सुदृढ गरी बलियो राष्ट्रिय शक्तिका रूपमा राजनीतिक दलहरूलाई सुदृढ गरौँ ।

(पोरखेल नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् ।)

प्रतिक्रिया
सम्बन्धित