
काठमाडौं, ३१ वैशाख । ‘करोडौं पर्ने बंगला तिम्लाई कसले किन्दियो ?’ यो वाक्य शनिबार सामाजिक सञ्जालका भित्ताहरूमा भाइरल बन्यो । बिहानैदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यही वाक्य लेखेर भ्रष्टाचारविरुद्ध आवाज उठाइरहे ।
भ्रष्टाचारीलाई प्रश्न गर्दै शनिबार बिहान काठमाडौंस्थित माइतीघर मण्डलमा ‘करोडौं पर्ने बंगला तिम्लाई कसले किन्दियो?’ भन्ने प्लेकार्डसहित प्रदर्शन गरिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संगठित भ्रष्टाचार र ठगी भएको भन्दै दोषीलाई कारबाही माग गर्दै नागरिक स्वतःस्फूर्त सडकमा ओर्लिएका हुन् । नागरिक अगुवाइमा माइतीघर मण्डलमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रदर्शनकारीले नेताहरूलाई व्यंग्य गरिएका प्लेकार्डहरू बोकेका थिए । माइतीघर मण्डलमा गरिएको प्रदर्शनमा डा. गोविन्द केसीसहित विभिन्न क्षेत्रका नागरिक अगुवा, राजनीतिक दलका नेता तथा कार्यकतालगायत उपस्थित थिए ।
यस्तै दिउँसो नक्सालस्थित नारायणचौरमा पनि नागरिकले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरे । उक्त प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित अन्य दलका नेता, कार्यकर्ता र नागरिक अगुवाको बाक्लो उपस्थिति थियो ।
नारायणचौरमा आयोजित प्रदर्शनमा पनि ऐक्यबद्धता जनाउन पुगेका चिकित्सा शिक्षा सुधार अभियन्तासमेत रहेका डा. केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरू पनि जोडिएको आशंका गरे । ‘ठूला नेताको आड नपाईकन अरू नेताले यत्रो भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन्,’ उनले भने, ‘अब सरकारले भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी देखिए उनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ, कारबाही हुुनुपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइए भने कारबाही हुनुपर्छ ।’ शीर्ष नेता भ्रष्ट नभईकन मातहतका नेता भ्रष्ट हुन गाह्रो हुने उनले दाबी गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार हुनुमा पनि शीर्ष नेताहरूकै मिलेमतो रहेको दाबी केसीले गरे । ‘पक्राउ पुर्जी जारी भइसकेका नेताहरू फरार हुनुले उनीहरू दोषी रहेको प्रस्टै देखिन्छ । भाग्न खोज्नु र भाग्नुले दोषी भएको स्वतः प्रस्ट हुन्छ । यसरी भाग्दा पनि शीर्ष नेताको सहयोग छ भन्ने बुझिन्छ,’ केसीले भने ।
बाबुराम भट्टराई पुग्दा विरोध
नक्सालस्थित नारायणचौरमा आयोजित प्रदर्शनमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पुगेका थिए । उनी पुग्दा उपस्थित प्रदर्शनकारीले असन्तुष्टि जनाएका थिए । प्रदर्शनकारीले मुलुकमा भ्रष्टाचार मौलाउनुमा डा. भट्टराई र उनकी पत्नी हिसिला यमीको पनि संलग्नता रहेको दाबी गर्दै असन्तुष्टि पोखे । आफ्नो उपस्थितिमा असन्तुष्टि प्रकट भए पनि भट्टराई प्रदर्शनमा सहभागी भए । भट्टराईले देशमा स्थिर सरकार नभए भुटानी शरणार्थीजस्ता प्रकरणमा निष्पक्ष छानबिन हुन नसक्ने बताए ।
‘स्थिर सरकार नहुँदा नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष रूपमा छानबिन हुने कुरामा शंका हुन्छ,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले कुनै दलको बहुमत पुग्दैन, बहुमत नभएपछि सरकार अस्थिर हुन्छ । यस्तो अवस्थामा सरकार जोगाउनुपर्ने भएकाले कार्यकारी प्रमुखले दह्रोसँग कदम चाल्न सक्दैन । राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ ।’ भ्रष्टाचारविरुद्ध सडक, सदन र सरकारबाटै खबरदारी हुनुपर्ने भट्टराईले बताए । उनले भने, ‘हामीले यो गर्न सके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ ।
आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया