१ कार्तिक २०८३, आइतबार

सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २० फागुन । आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत–चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो ।

भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमनत भएका हुन् ।

दुवै देशले निकट सम्पर्कमा रहने, सैन्य एवम् कूटनीतिक माध्यमबाट वार्तालाई निरन्तरता दिन तथा समाधान गर्न बाँकी सबै मुद्दा पारस्परिक सहमतिमा निरुपण गर्ने प्रतिबद्धता जनाएका छन् ।

“पश्चिमी क्षेत्रको लाइन अफ कन्ट्रोलसँग सम्बन्धित विवाद समाधान गर्न दुवै पक्षबीच गहन छलफल भएको छ, सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने सहमति भएको छ,” बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

पाँच महिनाको अन्तरालमा चीन र भारतका सैन्य अधिकारीबीच उक्त बैठक भएको हो । दुवै देशका लेफ्टिनेन्ट जनरलले नेतृत्व गरेको उक्त बैठकमा चीन र भारतका उच्च सैनिक अधिकारीको सहभागिता थियो । एएनआई