३ कार्तिक २०८३, मंगलबार

पञ्चायतले जागिर खोसिएकी मिरालाई सम्मान

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर-९ स्थित श्री डेडी थुम्का माध्यामिक विद्यालयकी पूर्व शिक्षिका मिरा ध्वजु सम्मानित भएकी छिन् ।

२०४५ सालमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूको पुर्नमिलन तथा सम्मान कार्यक्रममा ध्वजु सम्मानित भएकी हुन् । २०४५ सालमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रममा ध्वजु सम्मानित भएकी हुन् ।

ध्वजुसहित अन्य शिक्षकहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

को हुन् मिरा ध्वजु ?

सोझै परिचय दिँदा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलकी धर्मपत्नी हुन् मिरा ध्वजु । आममानिसले सहजै चिन्ने उनको सहज परिभाषा यही हो । तर, एमालेमा भने उनको अलगै पहिचान छ । उनी एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलकी धर्मपत्नी मात्रै होइनन्, राजनीतिमा लागेकै कारण जागिर गुमाएकी एक शिक्षिका हुन्। एमालेकी एक बफादार सिपाही जो ४६ बर्षदेखि अनवरत रुपमा पार्टीको सेवामा छिन् ।

भक्तपुरको नगरकोटमा जन्मिएकी ध्वजु २०३२ सालदेखि शिक्षण पेशामा होमिएकी थिइन् । तर, देशमा पञ्चायती निरंकुशताविरोधी उर्लंदो लहरले उनलाई पनि छाडेन् । अन्ततः शिक्षण पेशासँगसँगै राजनीतिमा पनि होमिइन् । २०३६ सालमा तत्कालिन मालेको पार्टी सदस्य लिएकी ध्वजु त्यसलगत्तै भुमिगत रुपमा राजनीतिक गतिविधिमा पनि सक्रिय हुन थालिन् ।

तर, सुरुमै उनले ठूलो मुल्य चुकाउनुपर्यो, पञ्चायती व्यवस्थाविरुद्ध लागेकै कारण ध्वजुलाई तत्कालिन सरकारले डिल्लीबजार सदरखोरमा डेढ महिना जेल हाल्यो । जेलबाट छुटेपछि महिला अधिकारको आन्दोलनमा होमिइन् । अनेमसंघ काठमाडौं जिल्ला कमिटीमा बसेर काम गर्दागर्दै २०३९ सालमा उनले अनेमसंघको सचिव हुने मौका पाइन् । अनेमसंघसँगै पार्टीको अन्य जिम्मेवारी त छँदैथिए ।

२०४० सालमा ध्वजुले भुमिगत अवस्थामै नेता इश्वर पोखरेलसँग बिहे गरिन् । पोखरेल त्यतिबेला पार्टीका केन्द्रीय सदस्य थिए । ध्वजु भने काठमाडौंको मातातिर्थ, थानकोट क्षेत्रको पार्टी काम हेर्थिन । ध्वजु सम्झन्छिन्, ‘राजनीतिमै लागेका कारण मेरो उहाँसँग बिहे भएको हो । नत्र उहाँसँग बिहे हुने थिएन ।’

बिहेको एकबर्षपछि २०४१ सालमा ध्वजु काठमाडौं छाडेर काभ्रेमा पुगिन् । काभ्रेको विकट गाविस ठूलो पर्सेनको पञ्चकन्या माविमा पढाउँदै पार्टीको जिल्ला कमिटी सदस्यका रुपमा काम गर्न थालिन् । ध्वजुले त्यतिबेला पढाएका गोकुल बास्कोटा अहिले एमालेको युवा नेता तथा प्रतिनिधि सभा सांसद छन् । यस्तै, रमेश पाण्डे लगायत अन्य थुप्रै उनका चेलाहरु छन् । जो अहिले पनि एमालेकै राजनीतिमा छन् ।

शिक्षिका भएर पनि भूमिगत रुपमै अनवरत पार्टी विस्तारमा लागिरहेकी ध्वजुले पटकपटक धरपकड र तनाव समेत सहिन् । अन्ततः खाइआएको शिक्षिकाको जागिर समेत खासियो, २०४५ सालमा । बहुदल आएपछि फेरि मिराको पुर्नबहाली भयो । त्यसपछि त राजनीतिक यात्रामा विराम लगाउने कुरै भएन ।

२०५४ सालमा एमालेको अखिल नेपाल महिला संघको काठमाडौंको अध्यक्ष बनेकी उनी त्यहीबर्ष केन्द्रीय सदस्य अनि सचिवालय सदस्य बनिन् । २०६४ सालमा आइपुग्दा उनी अनेमसंघको केन्द्रीय सचिव भइन् ।

अनेमसंघमात्रै होइन, पार्टीमा पनि उनका थुप्रै जिम्मेवारी थिए । एमालेको काठमाडौंको सदस्य हुँदै २०५७ सालमा उनी उपत्यका समन्वय कमिटीको सदस्य भइन् । २०६२ सालबाट २०६६ सालसम्म उपत्यका समन्वय कमिटीको सदस्यको रुपमा काम गरिन् ।

आठौं महाधिवेशनपछि २०६७ सालमा केन्द्रीय समावेशी तथा सामाजिक सेवा विभागमा काम गरेकी ध्वजु २०६९ सालमा केन्द्रीय सल्लाहकार परिषदको सदस्य बनिन् भने नवौं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि ।

एमएसम्म अध्ययन गरेकी ध्वजुलाई पार्टीको काम त छँदैछ, एमाले वरिष्ठ उपाध्यक्ष धर्मपत्नीसमेत भएकाले उनको व्यस्त दैनिकीलाई सम्हालिदिनुपर्ने अर्को दायित्व पनि छ । अझ घरमा आउने कार्यकर्ता र पाहुनालाई मिठो बचन बोल्न र सकेसम्मका सरसहयोग गर्न त उनी माहिरै छिन् । ध्वजु २०७० सालमा समानुपातिक सभासदसमेत बनेकी थिइन् ।