
काठमाडौं, १३ वैशाख । प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरुको नाम उपलव्ध नगराएपछि समिति गठनमा ढिलाई हुने भएको छ ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस लगायतका दलहरुले समितिमा रहनेहरुको नाम दिन ढिलाई गरेपछि त्यसको असर समिति गठनमा परेको हो । कांग्रेस लगायतका दलले समितिमा रहनेहरुको नाम बुझाउन बिहीबारसम्मको समय माग गरेका छन् ।
परामर्श समिति बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले समितिमा रहने सांसदहरुको नाम बुझाउन केही दलले समय मागेको बताए । संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सदनमा पेश गर्ने बिषयमा पनि परामर्श समितिमा सहमति जुट्न नसकेको र यस बिषयमा पुन: छलफल हुने उनले जानकारी दिए ।
त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदीय समिति गठनका बिषयमा यसअघि दलहरुबीच भएको सहमतिकै आधारमा समितिलाई पूर्णता दिने बिषयमा छलफल भएको र चाँडोभन्दा चाँडो यसलाई टुङ्गोमा पु¥याउने बताए ।
बैठकमा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि संसदीय समितिमा रहनेहरुको नाम बिहीबारसम्म बुझाउन आग्रह गरेका थिए ।















प्रतिक्रिया