
धादिङ, १२ वैशाख । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् ।
पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खबरदारी गर्ने बताएका हुन् ।
उनले देश गम्भीर आर्थिक संकटउन्मुख रहेकाले अर्थतन्त्र संकटमा पर्न नदिनका लागि एमालेले जिम्मेवार भूमिका खेल्ने बताएका छन् । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षको रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ ।
देशको हितमा काम गर्नका लागि एमाले आवश्यक भएको भन्दै उहाँले संसदीय चुुनावमै एमालेले अर्थतन्त्र सुधारका लागि अवधारणा बनाएर सार्वजनिक गरेको स्मरण गरे । एमालेको नेतृत्वमा एक वर्षमा देशका सबै परिसूचकहरु सुधार्ने गरी स्थायित्वको प्रयास गरेको भए पनि नेकपा (माओवादी केन्द्र)को अस्थिर निर्णयका कारण सम्भव नभएको उपमहासचिव रिमालको भनाइ छ ।
एमालेले देशको नेतृत्व गरेर एक वर्षमा आर्थिकसँगै सबै सूचकहरुमा सकारात्मक दिशा दिने अवधारणासहित चुनावमा गएको र चुनावलगत्तै त्यसको प्रयासमा तुलनात्मक रुपमा सानो दललाई प्रधानमन्त्री बनाएको रिमालले स्पष्ट पारे । तर, प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले अस्थिर चरित्र फेरि देखाएर देशलाई गलत दिशा दिनेतर्फ अग्रसर भएको उनको भनाइ छ ।
फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताउँदै चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनमा एमालेले केही नपाए पनि केही गुमाउन नपरेको तर्क गरे ।
‘यो चुनावी नतिजाले एमालेलाई फरक पर्दैन । हामी प्लस, माइनस शून्यमा छौँ,’ उनले भने, ‘यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।’















प्रतिक्रिया