२९ आश्विन २०८३, बिहिबार

संसदमा ‘कानआकर्षण’ गर्दै सांसद रिजालले भने– एमाले सधैं नयाँ र तन्नेरी दल हो (भिडिओ)

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल (ईशवरी)ले नेकपा एमाले सधैं नयाँ र तन्नेरी दल भएको बताएका छन् ।

आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उनले उमेर बढी भए पनि ब्रम्हाण्डलाई प्रकाश र ताप दिने सूर्य सधैं जवान भएसरह एमाले पनि सधैं जवान नै रहेको बताएका हुन् ।

एमालेले गरेका कयन राम्रा कामहरूलाई समेत ओझेलमा पारेर पुराना दलले केही गरेनन् भन्ने भाष्य निर्माण गरिएकोप्रति सांसद रिजालले आपत्ति जनाएका छन् ।

‘अचेल एउटा भाष्य खडा गरिएको छ ‘पूराना दलहरू’ भनेर । म के आग्रह गर्न चाहान्छु भने सौर्यमण्डलमा धेरै ताराहरू जन्मिने र बिलाउने गर्दछन् । तर, सूर्य आयुमा पुरानो होला तर, त्यसको काम पुरानो भएको छैन र हुँदैन पनि । त्यसले उज्यालो र ताप दिने काम नयाँ नै छ,’ उनले भने ।

इतिहासमा पार्टीले केही कमजोरी गरेको भए पनि त्यसको एक्लै जिम्मेवारी लिनसक्ने सार्थ्य एमालेसँग रहेको भन्दै उनले अगाडि भने, ‘इतिहासमा गरेका राम्रा कामहरूको अरु दलसँग मिसाएर वा अरु दलले गरेका नराम्रो कामसँग मिसाएर ‘दलहरू’ भन्ने भाष्य खडा नगरियोस् । नेकपा एमाले मिसनमा, भिजनमा र एक्सनमा सधैंभरि नयाँ दल छ । सधैँभरि तन्नेरी दल छ ।’

यस्तै उनले दोलखा र रसुवालगायत जिल्लाका भूकम्पपीडित लाभग्राहीहरूका समस्याबारे बारम्बार सदनमा कुरा उठाए पनि सरकारले सुन्दैनसुनेको आरोप लगाएका छन् ।

सरकारले सांसदको कुरा नसुनेकोप्रति ‘कानआकर्षण’ गराउँदै उनले भने, ‘२०७९ साल फागुन १० गते दोलखाका भूकम्पपीडत लाभग्राहीहरूको बारेमा मैले सरकारको ध्यानाकर्षण गरेको थिएँ । त्यसैगरी २०८० साल वैशाख ३ गते रसुवाका भूकम्पपीडित लाभग्राहीहरूको बारेमा र उहाँहरूको समस्याका बारेमा ध्यानाकर्षण गरेको थिएँ । त्यतिखेल मैले सरकारको ध्यानाकर्षण गरेको थिएँ । आज म सरकारको कानआकर्षण गर्छु । सरकारले सुनोस्, बुझोस् र सरकारले गरोस् ।’