२९ आश्विन २०८३, बिहिबार

टीआरसी विधेयक अघि बढान विशेष समिति गठन गर्ने दलहरूबीच सहमति

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरूबीच संसदीय समितिको नेतृत्व र संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कानून अघि बढाउने विषयमा सहमति जुटेको छ ।

सिंहदरबारमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकमा समितिको नेतृत्वको भागबण्डामा सहमति जुटेको हो ।

त्यस्तै संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकलाई अघि बढाउन १५ सदस्यीय विशेष समिति गठन गर्ने दलहरुबीच सहमति भएको छ ।

बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले संघीय संसदको दुईवटा संयुक्त समिति मध्ये संसदीय सुनुवाईको सभापति कांग्रेस र राज्यको निर्देशक सिद्धान्त समितिको सभापति एमालेले पाउने सहमति भएको जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभाअन्तर्गतको १० वटा बिषयगत समिति मध्ये लेखा र अन्य कुनै एक समितिको सभापति एमालेले लिने सहमति भएको बताए । त्यस्तै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अघि बढाउनका लागि १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको उनले बताए । गिरीले संवैधानिक परिषदसम्बन्धी विधेयक पनि संसदबाटै पारित गरेर अघि बढ्ने सहमति भएको जानकारी दिएका छन् ।

त्यस्तै, कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदमा भएका सवै राजनीतिक दलहरुबीच सहमतिकै आधारमा संसद सञ्चालन गर्ने सहमति भएको बताए ।

यसैगरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले टिआरसी अघि बढाउन बिशेष समिति गठन गर्ने र संसदको अर्को अधिवेशनको निश्चित समयभित्रै पारित गर्ने सहमति भएको जानकारी दिए । संसदीय समितिको नेतृत्व विवाद पनि समाधान भएको उनले बताएका छन् ।

त्यस्तै दलहरुबीच महत्वपूर्ण विधेयक अघि बढाएर संसदको चालू अधिवेशन छिट्टै अन्त्य गर्ने र बजेट अधिवेशनको तयारी गर्ने सहमति पनि दलहरूबीच भएको छ ।