
चितवन, ११ वैशाख । चितवन क्षेत्र नम्बर २ को मतगणनाबारे निर्णय गर्न आज बिहान सर्वदलीय बैठक बस्दैछ ।
बैठक आज बिहान ८ बजे बस्न लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठकले मतगणनाको समय तय गर्नेछ ।

यसअघि, हिजो राति नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरेपनि बैठक बस्न सकेको थिएन ।
नेपाली कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीविरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने कांग्रेसको अडान छ ।
कांग्रेसले आचारसंहिता उल्लंघनमा लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न उजुरी दिएको छ ।
चितवनको मतगणना चितवन उद्योग संघको सभाहलमा हुँदैछ । मतपेटिकाहरू मतगणना स्थल ल्याइसकेको छ ।
मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ । मतगणनास्थलमा तारजालीसहित नौवटा सिसी क्यामरा जडान गरिएको हो ।












प्रतिक्रिया