२९ आश्विन २०८३, बिहिबार

६ जनालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरिने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट यो वर्ष ६ जना पुरस्कृत हुने भएका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३औं वार्षिक उत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिहरुको नाम घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा आयोजित वार्षिक उत्सवमा पुरस्कृत व्यक्तिहरुको योगदानबारे चर्चा समेत गरिएको थियो ।

जस अन्तर्गत नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सङ्गीत विधातर्फ वरिष्ठ गायक तथा सङ्गीतकार गणेश रसिकलाई, लोक सङ्गीत विधातर्फ वरिष्ठ लोकगायक नवीनकिशोर राईलाई, परम्परागत तथा शास्त्रीय सङ्गीत विधा तर्फ वरिष्ठ सङ्गीत साधक विजय कुमार श्रेष्ठलाई प्रदान गरिने घोषणा गरिएको छ ।

यस्तै, रङ्गमञ्च विधातर्फ वरिष्ठ नाटक निर्देशक भैरव क्षेत्रीलाई, नाटक विधा तर्फ नाट्यकर्मी प्रा. डा. रामचन्द्र पोखरेललाई र नृत्य विधातर्फ वरिष्ठ लोक नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने घोषणा गरिएको छ ।

यो पुरस्कारको राशी एक लाख १ रुपैयाँ र ताम्रपत्र रहेको सो प्रतिष्ठानकी सदस्य सचिव कुस्मा महरा (प्रगति)ले कार्यक्रममा जानकारी गराइन् । उनीहरुलाई एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सो पुरस्कार प्रदान गरिने पनि उनले बताइन् ।