
काठमाडौं, १० वैशाख । आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ ।
बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको ।
जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५३ प्रतिशत मतदान भएकोे छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा गरी तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ ।















प्रतिक्रिया