२९ आश्विन २०८३, बिहिबार

स्वर्गीय पत्रकार ईन्द्र लोहनीकी बहिनीद्वारा क्यान्सर उपचारका लागि सहयोग अपील

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । झापा घर भइ हाल काठमाडौंको पेप्सीकोलामा बस्दै आएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपील गरेकी छिन् ।

स्वर्गीय पत्रकार ईन्द्र लोहनीकी कान्छी बहिनी विजयाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देशविदेशमा रहेका नेपालीहरूसँग आर्थिक सहयोगका लागि अनुरोध गरेकी हुन् ।

उनी तीन वर्षयता क्यान्सर रोगसँग लडिरहेकी छिन् । ‘उपचार प्रक्रिया महँगो छ । तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ । त्यसैले मैले सबैलाई आर्थिक सहायताका लागि आग्रह गरेकी हुँ,’ उनले भनिन् ।

उनलाई तीन वर्षअगाडि पाठेघरको क्यान्सर देखियो । त्यसको १० महिनापछि फोक्सोमा पनि क्यान्सर देखिएको थियो । त्यसलगत्तै क्यान्सर ठूलो आन्द्रामा सर्‍यो । ललितपुरको हरिसिद्धि अस्पतालमा उपचार गरेपछि स्वास्थ्यमा सुधार नआएको उनले बताइन् ।

क्यान्सरपीडित विजया एक वर्षयता भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छिन् । उनका अनुसार अढाई महिनाको अन्तरालमा एकपटक दिल्ली जानुपर्छ । ‘तीन वटा किमो गरेर ७५ दिनमा एकपटक दिल्ली जानुपर्छ । त्यहाँ स्वास्थ्य परीक्षण हुन्छ । औषधि दिल्लीबाटै ल्याएर बी एन्ड बी अस्पतालमा किमो लिने गरेकी छु,’ उनले भनिन् ।

मध्यम् वर्गीय किसान परिवारमा हुर्किएकी लोहनी उपचारकै क्रममा एक करोड ५० लाख रुपियाँ ऋणमा परेकी छन् । देश र विदेशमा बस्ने साथीहरूले सहयोग गरिरहेको उनले बताइन् । ‘दुवै छोरा पढ्दैछन् । म बिरामी भएपछि ठुलो छोराको पढाइ छुट्यो । तर साथीहरूले निब्र्याजी आर्थिक सहयोग गरिरहनुभएको छ,’ उनले भनिन् ।

उनले एकपटक दिल्ली जाँदा सम्पूर्ण परीक्षणको तीन लाखदेखि पाँच लाख रुपियाँ लाग्ने बताइन् । उनका अनुसार औषधिसहित अन्य मासिक खर्च एक लाख रूपैयाँ छ । ‘५३ वटा किमो लिइसकेकी छु । अब ठुलो आन्द्राको शल्यक्रिया गर्नुपर्ने छ, त्यसका लागि चार लाख रूपैयाँ लाग्छ । सबैमा मेरो अनुरोध छ, सकेको सहयोग गरिदिनुहोला,’ उनले भनिन् ।

क्यान्सरले स्वास्थ्यमा गम्भीर समस्या आएपछि लोहनीले अहिले आफ्नो दाजुलाई सम्झिरहेकी छन् । ‘रोग त लाग्थ्यो होला, तर दाजु हुनुभएको भए रोग लागे पनि मेरो उपचार सहजै हुन्थ्यो होला,’ उनले भनिन् ।

क्यान्सरपीडित विजया लोहनीलाई सहयोग गर्नका लागि उनको सनराइज बैङ्कमा रहेको खाता नं. ०३२०६४८४७८२०२००१ मा जम्मा गर्न सकिनाका साथै ९८४२०६६२५४ नम्बरमा सम्पर्क गर्न सकिने छ ।