३० कार्तिक २०८३, सोमबार

चितवन–२ मा मतदान सुरु, लामो दूरीका सवारी साधन मात्रै चल्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० वैशाख । चितवन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा रहेका ४३ स्थलका एक सय ३८ केन्द्रमा ६ सय ९० कर्मचारी खटिएका छन् ।

निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । जसमा ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

चितवन २ को प्रतिनिधि सभा सदस्यका लागि २४ जना चुनावी मैदानमा छन् ।

लामो दूरीका सवारी साधन मात्रै चल्ने

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । लामो दूरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ ।

प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरी केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ ।

चितवन प्रशासनले नारायणी पुलमा पर्नसक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैँडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दूरीका सवारी साधन यकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ ।

आज जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, पत्रकारका सवारी साधन मात्र सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।