
दमौली, १० वैशाख । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनमा सहभागी भएर मतदान गर्न सम्पूर्ण आम मतदातामा अपिल गरेका छन् । निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।
पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द भएको छ । उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।
मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहेको प्रशासनले जनाएको छ ।
आज उक्त क्षेत्रमा दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुने प्रशासनले जनाएको छ ।
तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।
तनहुँ १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।












प्रतिक्रिया