
काठमाडौं, ९ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद विघटनको घटनामा नेपालकको न्यायालय एमालेप्रति पूर्वाग्रही भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित विशेष कार्यक्रममा उनले कांग्रेसले विघटन गर्दा न्यायालयबाट स्वीकार गरिएको र एमालेले गर्दा अस्वीकार गरिएको घटना स्मरण गर्दै अदालतले एमालेप्रति पूर्वाग्रही रुपमा हेरेको बताएका हुन् ।
‘कांग्रेसले संसद विघटन गर्दा अदालत तटस्थ बस्छ, एमालेले विघटन गर्दा अदालतले रोक्ने गरेको छ । २०५२ साल र २०७७ सालमा रोक्ने काम भयो,’ महासचिव पोखरेलले भने । अदालत सधैं पक्षपाती भएको भन्दै पोखरेलले कांग्रेसले संसद बिघटन गर्दा स्वीकार र एमालेले गर्दा अस्वीकार गरेर पक्षपाती भूमिका खेलेको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले एमालेले देश र जनताको पक्षमा काम गर्दा घेराबन्दी गरेको भन्दै अहिले सबै क्षेत्र समस्याग्रस्त र जनताको विश्वास गुमाउने अवस्थामा बनेको बताए । ‘अहिले अदालत अदालत जस्तो छैन । अदालतमाथि जनताको विश्वास टुटेको छ । सरकार सरकार जस्तो छैन । देशको स्वाधीनताकै पक्षमा उभिन सकेको छैन । प्रतिनिधि सभा पनि अस्थिर छ,’ महासचिव पोखरेलले भने ।
उनले नेकपा एमालेबाहेक अन्य दलमा यो देशको नेतृत्व गर्ने सामथ्र्य नभएको पनि बताएका छन् । ‘एमालेबाहेक अरु पार्टीसँग यो देशको नेतृत्व गर्ने सामाथ्र्य छैन भन्ने सच्चाइलाई हामीले जनताको बीचमा स्थापित गर्नुपर्छ,’ महासचिव पोखरेलले भने ।
महासचिव पोखरेलले अवसरवादले पार्टीलाई केही चुनौती दिएको भए पनि त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकता रहेकको बताए ।















प्रतिक्रिया