
काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय लेखा परिक्षण आयोग सदस्य नरेश ज्ञवालीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
नेकपा (एमाले) विभाजन हुँदा एकीकृत समाजवादीमा लागेका ज्ञवालीले विभाजनको औचित्य पुष्टि नहुने भन्दै पार्टी परित्याग गरेका छन् ।
ज्ञवालीले पार्टी विभाजनको औचित्य पुष्टि नभएको र जनताले माधव नेपाल नेतृत्वको पार्टीलाई अस्वीकार गरी सजाय दिएकोले सो पार्टी छाडेको बताएका छन् ।
‘विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो । त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ’, ज्ञवालीले भने ।
ज्ञवाली एमालेको स्थापनाकालदेखि सक्रिय नेता हुन् । ‘कोके, माले, एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ’, ज्ञवालीले भने ।
ज्ञवाली एमालेमा फर्किने तयारी गरेको बुझिएको छ । एमालेले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा च्यासलमा नेकपा स्थापना दिवसको विशेष कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममाबाट ज्ञवाली एमालेमा फर्किने बुझिएको छ ।
आजै सोही कार्यक्रममा समाजवादी परित्याग गरेका मुकुन्द न्यौपाने आफ्नो टिमसहित एमालेमै फर्किने बताइएको छ ।












प्रतिक्रिया