
काठमाडौं, ८ वैशाख । नेकपा एमालेले आफ्नो पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिनाअघि सुरू गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज पनि काठमाडौं, रूपन्देही, कास्की, गोरखा, नवलपुर र दाङलगायत जिल्लाहरूमा विभिन्न गतिविधिहरू भएका छन् ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
काठमाडौं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुट अनुभव र सिकाइ विषयक अन्तरक्रियामा उहाँले पार्टीभित्रको एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएको बताउनुहुँदै आन्तरिक एकतालाई सुदृढ बनाउन योजनाबद्ध पहल गर्ने बताउनुभएको हो ।
अहिलको चुनाव प्रणालीभित्र बहुमत सम्भव नभए पनि ४० प्रतिशत मत हासिल गर्न सकिए समानुपातिकतर्फ थ्रेसहोल्डका कारण ४५ प्रतिशत सीट प्राप्त गर्न सकिने उहाँको भनाइ छ । पोखरेलले आगामी निर्वाचनमा एमालेको एकल बहुमतले सरकार बनाउने उद्देश्यका साथ पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो ।
रूपन्देही
नेपाल निजामति कर्मचारी संगठनको ३३औं स्थापना दिवसको अवसरमा बुटवलमा नवबर्ष २०८० सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विश्वकर्माले जनताले अनुभुत गर्नेगरी सहज सेवा प्रवाह गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो । उहाँले संघीयता कार्यान्वयनसँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

लामो इतिहास भएको नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरूको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले कर्मचारीहरूले नागरिक सेवालाई थप सहज र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
संगठनका केन्द्रीय सदस्यहरू दिपक शर्मा पौडेल, काशिराम आचार्य, नारायण प्रसाद भण्डारी लगायतले देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दा समेत प्रशासनिक संघीयता कार्यान्वयन गर्ने संघीय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरूले बदलिँदो परिस्थितिमा कहाँ पुग्ने र कसरी काम गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको भन्दै पेशागत अधिकारका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको पोखरा महानगरपालिका कमिटीको दशाँै पूर्ण बैठक तथा मिसन ग्रासरुट अभियानको समिक्षा बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश कमिटीका सह–ईन्चार्ज मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बैठकमा जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र प्रदेश सचिबालय सदस्य पुण्यप्रसाद पौडेलले मन्तब्य राख्नुभएको थियो ।

बैठकमा महानगर कार्यक्षेत्र रहनुभएका प्रदेश कमिटीका सचिबालय सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारीहरू महानगर कमिटीका सदस्य लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । वडा कमिटीका अध्यक्षहरूले अभियानको वडा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समिक्षा बैठकले अभियान उपलब्धिमुलक रहेको निष्कर्ष निकाल्दै महानगरले अभियान समापन भए पनि सुदृढीकरण अभियानलाई महानगरभित्र निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकले अभियान अवधिभर पोखरा महानगर कार्यक्षेत्र बनाएर क्रियाशिल रहनुभएका सबै तहका नेताहरूलाई धन्यवाद दिँदै केन्द्रीय सदस्य अधिकारीलाई सम्मानसमेत गरेको छ ।
गोरखा
मिसन ग्रासरूट अभियानअन्तर्गत गोरखाको आरूघाट गाउँपालिकामा अभियानको समिक्षा बैठक सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी केन्द्रीय सदस्य किशोरविक्रम मल्लको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष मेनबहादुर अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले अभियान निकै उपलब्धिमुलक रहेको निष्कर्ष निकालेको छ । यसैबीच केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय सदस्य मल्ल र प्रदेश प्रतिनिधि सुरेन्द्र थापालाई बिदाइसमेत गरिएको छ ।
बैठकले अभियान जेठ १५ गतेसम्म लम्ब्याउने र बाँकी रहेका पार्टी सदस्यता नवीकरणलाई पूर्णता दिने निर्णय गर्दै समिक्षा प्रतिबेदन माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको छ ।
नवलपुर
मिसन ग्रासरूट अभियानले नवलपुर जिल्लामा पार्टी कमिटी चलायमान भएको अभियानका लागि केन्द्र र प्रदेशबाट खटिनुभएका अभियान्ताहरूले बताउनु भएको छ । जिल्ला कमिटी नवलपुरले आज कावासोतिमा आयोजना गरेको समीक्षा बैठकले अभियान सफल भएको निष्कर्ष निकालेको हो ।
पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज तीलक महतको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी केन्द्रीय सदस्य भुपेन्द्र बहादुर थापा, जमिन्द्र मान घले र भीम कार्की पनि सहभागी हुनुहुन्थ्यो । बैठकमा सम्बोधन गर्दै प्रतिनिधिहरूले निर्वाचित जनप्रतिनिधिहरूसँग मतदाताले अपेक्षा बढी लिएकाले जनप्रतिनिधिहरूले मतदाताहरूको भावना बुझेर कामा गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँहरूले अभियानका क्रममा नै सत प्रतिशत सदस्यता नवीकरण हुनुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत सदस्यता नवीकरण सकिएको बताउँदै सदस्यता नवीकरण कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउँदै निर्धारित समयमा नै नवीकरणको काम सक्न पनि निर्देशन दिनुभयो ।
बैठकमा अभियानकै क्रममा अन्य पार्टीबाट एमाले प्रवेश गर्नुभएका, जेष्ठ नागरिक, सहिद परिवार अभियानका क्रममा सेल्टर दिनुहुनेहरू र जिल्ला बाहिरबाट आउनुभएका अभियान्ताहरू साथै हालै सम्पन्न विभिन्न भातृ संगठनको अधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित प्रतिनिधिहरूलाईसमेत सम्मान गरिएको थियो ।
समीक्षा बैठकमा पार्टी केन्द्रीय सदस्य महतले अभियानका दौरान प्राप्त सुझावलाई सम्पतिको रूपमा लिएको बताउनुहुँदै आम जनताले एमालेप्रति देखाएको भरोसालाई आफूले सम्मान गर्ने धारणा राख्नुभयो । बैठकमा केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल, रविन्द्र अधिकारी, केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा लगायत नेताहरू पनि उपस्थित हुनुहुन्थ्यो ।
दाङ
नेकपा एमाले दाङले पार्टी स्थापना भएको ७५ औं वर्षको अवसरमा भोलि शनिबार विभिन्न कार्यक्रम गर्ने भएको छ । २००६ साल वैशाख ९ गते नेकपाको स्थापना भएको हो । एमाले दाङले पार्टी स्थापना दिवसको अबसरमा शनिबार विहान ७ बजे बेलझुण्डिस्थित रंगशालामा नेपाल पत्रकार महासंघको टोलीसँग मैत्रीपूर्ण फूटबलको आयोजना गर्ने, प्रतियोगिताका विजेतालाई पुरस्कारस्वरूप खसी दिइने एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई विहान ११ बजे फलफूल बितरण गर्ने, दिउँसो २ बजे घोराही सर्रास्थित बृद्धाश्रममा सहयोग बितरण गर्ने कार्यक्रम तय गरिएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिनुभयो । पार्टीस्थापना दिवसको अवसरमा पालिकास्तरीय कार्यक्रमहरू पनि हुने भएका छन् । पालिकाहरूमा कम्युनिष्ट आन्दोलनमा सक्रिय अग्रजहरूलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।















प्रतिक्रिया