
काठमाडौं, ८ वैशाख । गायक प्रकाश सपुतले ‘सकम्बरी’ गीत सात दिनमा करोडपटक हेरिएकोमा सबै दर्शकलाई धन्यवाद दिएका छन् ।
उनले फेसबुकमा लामो स्टाटस लेख्दै माया र प्रशंसाले हौसला प्रदान गरेको तथा खबरदारीले सचेत गराएको उल्लेख गर्दै आफ्नो गीतबाट चित्त दुखाएकाहरूसँग माफी पनि मागेका छन् ।
साथै रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै गीत हटाउन सार्वजनिक गरिएको विज्ञप्तिको जवाफ पनि उनले मार्मिक ढंगबाट दिएका छन् ।
संघका अध्यक्षलाई सम्बोधन गर्दै गीतका पात्र र पात्रको पृष्ठभूमि तयार पार्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको उल्लेख गरेका छन् । कथा निर्माणको प्रक्रियामा रात्रिकालीन व्यवसाय आएको तर, यसलाई आधिकारिक रिपोर्ट जस्तो गरी नबुझिदिन उल्लेख गर्दै उनले लेखेका छन्, ‘यसलाई कथा वा कला सामग्रीको रूपमा बुझिदिनुहोला । यदि रात्रिकालीन मनोरञ्जन व्यवसाय (दोहोरी साँझ) हुँदैन थियो भने म एउटा कलाकारको रूपमा स्थापित हुँदिन थिएँ । म सधैँ ऋणी छु । साथै इमानदारिताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुँदैन थियो भने सकम्बरीको कथा पनि मसँग हुँदैन थियो ।’
आफ्नो गीत र भिडिओलाई लिएर प्रेस विज्ञप्ति र अन्तर्वार्ताहरू आएपछि आफू अलिकति झस्किएको तर, अहिले रात्रिकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन व्यवसायीहरू संस्थागत भएर लागेका देख्दा खुसी लागेको उनले उल्लेख गरेका छन् । तर, आफूले विगतमा पाँच वर्षसम्म दोहोरी साँझमा काम गर्दा अपमानजनक व्यवहार खेपेको र थुप्रै नैतिक प्रश्नहरूको सामना गरेको पनि उनले बताएका छन् ।
‘समग्रमा क्षेत्र राम्रो, नराम्रो भन्दा पनि हामीभित्र राम्रा, नराम्रा पक्ष र प्रवृत्ति छन् । त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोण झनै भयङ्कर पक्षपाति छ,’ उनले अगाडि लेखेका छन्, ‘हामी सबैको साझा उद्देश्य समस्या समाभान हो । मर्यादिन र सफल व्यवसाय गर्ने, रोजगारी सृजना गर्ने, आर्थिक रूपमा सम्पन्न, हिंसारहित, विभेदरहित समाजको निर्माण गर्ने नै तपाईं हाम्रो प्रयास हो ।’
झनै अहम् भूमिका राज्यको रहेको उल्लेख गर्दै जस्तो समाजमा बसिन्छ, त्यस्तै चेतनाको धरातलमा टेकेर दृष्टिकोण बन्नेदेखि सृजना पनि बन्ने भएकाले यो देशकै समस्या रहेको सपुतले उल्लेख गरेका छन् । उनले आफ्नो सृजनाले प्रत्यक्ष, अप्रत्यक्ष कसैलाई चोट पुगेमा वा अपमानजनक महसुस भएमा सबैसँग क्षमा समेत माग्दै लेखेका छन्, ‘समाजको सृजना गर्ने तर, समाजकै चित्त दुखाउने मेरो नियत होइन ।’
उनले आफ्नो सृजनाले प्रत्यक्ष, अप्रत्यक्ष कसैलाई चोट पुगेमा वा अपमानजनक महसुस भएमा सबैसँग क्षमा समेत माग्दै लेखेका छन्, ‘मलाई कसैलाई होच्याएर आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर आफू सफल हुनु छँदै छैन । समाजको सृजना गर्ने तर, समाजकै चित्त दुखाउने मेरो नियत होइन ।
सात दिनअघि सपुतको ‘सकम्बरी’ सार्वजनिक भएपछि गीतलाई लिएर अनेक कोणबाट बहस भइरहेका छन् । कसैले यथार्थता देखाएको भनेर प्रशंसा गरेका थिए भने कसैले महिलालाई वस्तुकरण गरेको भनेर उनको आलोचना गरेका थिए । ‘सकम्बरी’ सार्वजनिक भएपछि गीतको भर्त्सना गर्दै युट्युबबाट हटाउन माग गर्दै रात्रिकालीन व्यवसायी संघले प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो ।
मनोजले दिए बधाई
गायक सपुतले लेखेको लामो जवाफी फेसबुक स्टाटस पढेर चर्चित हास्य कलाकार मनोज गजुरेलले सपुतलाई बधाई दिएका छन् । ‘समाजका हजारौँ कथामध्ये एउटा ब्यथालाई बहुत प्रभावकारी, सुन्दर र कर्णप्रिय रुपमा प्रस्तुत गर्नुभएकोमा बधाई तथा शुभकामना !’ गजुरेलले लेखेका छन् ।















प्रतिक्रिया