
दोलखा, ८ वैशाख । दोलखाका माध्यामिक विद्यालयहरुबाट उत्कृष्ट विद्यार्थी वक्ता छनोट गरिने भएको छ ।
माध्यामिक विद्यालय तहका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट वक्ता छनोट गर्न लागिएको हो ।
दोलखाली समाज दक्षिण कोरियाले जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामार्फत मावि तहको विद्यार्थी स्पीकर छनोट गर्ने घोषणा गरेको छ । दोलखाली समाज दक्षिण कोरियाका कार्यकारी अध्यक्ष अभि थापाले विद्यार्थीहरुको प्रतिभा पहिचान र प्रस्फुटन गर्ने उद्देश्यले जिल्लास्तरीय वतृत्वकला प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा पालिका स्तरमा प्रतियोगिता सञ्चालन हुनेछ । पालिकास्तरमा भएको प्रतिस्पर्धाबाट उत्कृष्ट घोषित भएका प्रतियोगीहरुलाई जिल्ला स्तरको प्रतिस्पर्धा (ग्राण्ड फिनाले) मा सहभागी गराइने बताइएको छ ।
आयोजक संस्थाले पालिकास्तरमा अडिसन राउण्डको प्रतिस्पर्धा यही वैशाख मसान्तभित्र सम्पन्न गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । अडिसन राउण्ड सम्पन्न भएपछि जिल्लास्तरीय प्रतियोगिताको शीर्षक, मिति र स्थान सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष थापाले बताए ।
दोलखाली समाज दक्षिण कोरियाका महासचिव दशरथ गिरीले जिल्ला स्तरियमा प्रतियोगिताका विजेता अर्थात् प्रथम हुनेले ३० हजार, द्धितीयले २० हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गर्ने सूचनामार्फत जानकारी दिएका छन् ।













प्रतिक्रिया