२९ आश्विन २०८३, बिहिबार

डा. नन्दिनी आचार्य अमेरिकामा ब्लक लेक्चरशीप जुनियर अवार्डबाट सम्मानित

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खरसाङ, ८ वैशाख । दार्जीलिङकी डा. नन्दिनी आचार्य अमेरिकामा २०२३ को ब्लक लेक्चारशीप जुनियर अवार्डबाट सम्मानित भएकी छिन् ।

हालमा उनी अमेरिकाको ओहियो स्टेट युनिभर्सिटीको पेलोटोनिया इन्स्टिच्युट अफ् क्यान्सरको न्युरोलोजी विभागमा सहायक प्रोफेसरको रुपमा कार्यरत छिन् । ब्लक लेक्चरशीप जुनियर फ्याकल्टी अवार्डबाट सम्मानित भएकी आचार्य पेलिटोनिया इन्स्टिच्युट अफ् क्यान्सर ओहियो स्टेट युनिभर्सिटी युएसएमा प्रधान अन्वेषकको रुपमा काम गरिरहेकी छिन् ।

अब उनले सन् २०१८ को नोबेल पुरस्कार विजेता इम्युनोथेरापी वैज्ञानिक डा. जेम्स एलिसनसँग दुई वर्षको मेन्टरशीप सुरु गर्ने छिन् ।

डा. आचार्य भारतीय स्पाइसेस बोर्डका पूर्व अधिकारी, अधिवक्ता एवं लेखक कालेबुङ निवासी अरुण आचार्य र खरसाङ महाविद्यालयकी पूर्व प्रभारी प्राचार्य लक्ष्मी प्रधान आचार्यकी छोरी हुन् ।

खरसाङमै जन्मिएकी र यही नै हुर्की बढेकी आचार्यले खरसाङको सेन्ट हेलेन्स कन्भेन्टबाट आईसीएसई उत्तीर्ण गरेकी हुन् । सिलगढीस्थित मतिगढाको सेन्ट जोसेफ हाई स्कूलबाट आईएससी गरेपछि कोलकाताको लेडी ब्रेबर्न कलेजबाट स्नातक गरिन् ।

यसपछि कोलकाता विश्वविद्यालयबाट एमएस माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेकी हुन् भने पीएचडी इम्युनोलोजीमा कनेक्टिकट विश्वविद्यालय फार्मिंगटन सिटी अमेरिकाबाट गरेकी हुन् । उनले पोस्ट डक्टरल फेलो हार्वर्ड मेड स्कूल, हार्वर्ड युनिभर्सिटी, बोस्टन, म्यासाचुसेट्स, अमेरिकामा गरेकी हुन् ।

सानैदेखि मेघावी विद्यार्थी रहेकी डा. नन्दिनी आचार्यलाई सन् २००२ मा आईसीएसईमा डिस्ट्रिक्ट टपर हुँदा तत्कालिन दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप)द्वारा खरसाङमा नगद पुरस्कार प्रदान गरेर सम्मानित गरिएको थियो ।

यता खरसाङमा उनकी मामा डा. नगेन्द्र नारायण प्रधान (आदर्श उच्चतर विद्यालयका पूर्व प्रधानाध्यापक)ले हर्ष प्रकट गर्दै भने, ‘नन्दिनीको यो सफलता आउँदो पिढीका लागि प्रेरणाको स्रोत बन्नेछ । विज्ञान विषयमा आउँदो पिढीका लागि प्रोत्साहन बन्न सक्नेछ ।’

विश्वमै विज्ञानको संसारमा समग्र नेपाली जातिको पहिचान स्थापित गर्दै आचार्य नोबेल पुरस्कार विजेता डा. जेम्स एलिसनसँग कार्य गर्ने भएपछि यसलाई समग्र नेपाली निम्ति गर्व महसुस गर्न सकिने भएको छ । ब्लक लेक्चरशीप जुनियर अवार्ड प्राप्त गरेपछि डा.नन्दिनीले आफ्नो ट्वीटर ह्यान्डलमा डा. जेम्स एलिसन जस्ता वरिष्ठ व्यक्तिसँग दुई वर्ष काम गर्न पाउनु आफ्नो निम्ति सौभाग्य रहेको बताएकी छिन् ।

स्मरण रहोस्, डा. जेम्स पी एलिसन अमेरिकी इम्युनोलिजिस्टले सन् २०१८ मा फिजोयोलोजी एण्ड मेडिसनमा जापानका डाक्टर तासुकु होन्जोसित संयुक्त रुपमा नोबेल पुरस्कार जितेका हुन् । नयाँ नयाँ क्यान्सर रोगको खोजी तथा उपचारमाथि उनीहरूको उल्लेखनीय कामको लागि नोबेल पुरस्कार प्रधान गरिएको हो ।