
काठमाडौं, ७ वैशाख । नेकपा एमालेले आफ्नो पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिनाअघि सुरू गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज पनि रूपन्देही, स्याङ्जा, कास्की, नवलपुर, चितवन, नहुँ र बारालगायत जिल्लाहरूमा विभिन्न गतिविधिहरू भएका छन् ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
रूपन्देही
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले संचालन गरेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)ले पार्टीभित्र शक्ति प्राप्त हुने र यसको परिणाम चार वर्षपछि हुने निर्वाचनमा देखापर्ने विश्वास व्यक्त गर्नुभएको छ । चौतर्फी आक्रमणका वावजुद विगत निर्वाचनमा नेकपा एमाले ४४ जिल्लामा पहिलो पार्टीको रूपमा स्थापित भएपनि ६ प्रतिशत जनमत घटेकोले यो अभियानमार्फत् त्यसको क्षतिपूर्ति गर्नुपर्ने दायित्व पार्टीको काँधमा आएको वताउनुभयो ।
२०४६ सालपछिको ३२ वर्षमा २८ वटा सरकार बनेको चर्चा गर्दै महासचिव पोख्रेलले यस्तो अस्थिरताको दुस्चक्रबाट मुलुक बन्न नसक्ने भएकोले ४ वर्ष पछिको निर्वाचनमा वहुमत ल्याउने अभियानका साथ ‘मिसन ग्रासरुट’ पश्चात् पनि निरन्तर पार्टी काममा लाग्न सवै तहका कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘चुनावमा विजय प्राप्त गर्न जनमत चाहिन्छ । तर, चुनाव भनेको उम्मेदवारको हैन पार्टीको बिषय बनाइनु पर्छ र चुनावमा विजय हासिल गर्नु भनेको वर्ग संघर्षको विषय भएकोले चुनाव जित्ने मात्र हैन, विचारसहित रूपान्तरणकारी भएको उम्मेदवार पनि हुनुपर्छ ’ महासचिव पोख्रेलले भन्नुभयो ।
पार्टीभित्र आन्तरिक समस्या रहेको तर्फ सचेत बनाउँदै अवको पार्टी गुणात्मक ढंगले अगाडि वढाउन विभिन्न कमिटीहरूलाई उहाँले निर्देशन दिनुभयो । कमिटीका आकार वढ्ने तर पार्टी कमजोर हुने कारण पत्ता लगाएर मिसन ग्रासरुटमार्फत् लिखित प्रतिवेदनमा सवै तथ्य तथा सुझावहरू केन्द्रमा पठाउन प्रदेश कमिटीलाई महासचिव पोख्रेलले आग्रह गर्नुभयो ।

पार्टी सदस्यको नविकरण गर्ने कामलाई विशेष जोड दिदै उहाँले नविकरण गर्दा भौतिक उपस्थितिमा गर्नुपर्ने कुरामा जोड दिनुभयो । सहभागीहरूबाट प्रशिक्षणको आवश्यकता रहेको प्रसंग उठेपनि केन्द्रले पठाएका निर्देशन तथा सुझावलाई कार्यान्वयन गर्नमा कमजोरी रहेकोतर्फ संकेत गर्दै प्रशिक्षण भनेको स्वअध्ययन पनि हो भन्ने कुरालाई नविर्सन आग्रह गर्नुभयो ।
सवै प्रदेशबाट ‘मिसन ग्रासरुट’ का प्रतिवेदन आइसकेपछि त्यस आधारमा केन्द्रले आगामी कार्ययोजना बनाउने भएकोले तदनुसार नै प्रदेश, जिल्ला तथा पालिका तहमा पनि कार्ययोजना वन्नेछन् । यस्ता कार्ययोजना अन्तर्गत् विषयगत प्रशिक्षण चलाउनुका साथै सदस्यता विस्तार तथा सक्रियता बढई आवश्यकता अनुसार कमिटीहरू गठन पुनर्गठन वा अधिवेशन गर्ने सम्मको अवस्था आई सवै कमिटीहरू विधिसम्मत चल्ने अवस्थाको सृजना हुने विश्वास पनि गरिएको छ ।
यो वैठक पश्चात् लुम्विनी प्रदेशका १०९ पालिका, १२ जिल्ला र प्रदेश गरी १२२ वटा पूर्ण प्रतिवेदन तयार गरी केन्द्रमा पठाइने छ । ती प्रतिवेदनहरू केवल रिपोर्ट मात्र हैन, प्रवृत्तिगत विश्लेषणसहित तयार हुनेछन् । यसवाट जनसंख्याको अनुपातमा पार्टीको उपस्थिति र अवका दिनमा गर्नुपर्ने कामको पहिचान हुनुका साथै सक्रिय ब्यक्तिहरूनै पार्टीमा क्रियाशील हुने अवस्था आउने विश्वास गरिएको छ ।
‘मिशन ग्रासरुट’ को समापन पश्चात् हाल पार्टीभित्र देखापरेको पदाधिकारीले निर्णय गर्ने प्रक्रियालाई कार्यकर्ताको सुझाव अनुसारनै अन्त्य गरिने र कमिटी प्रणालीलाई स्वचालित बनाई पदाधिकारीले कमिटीको निर्णयलाई कार्यान्वयन गर्ने अवस्था सृजना गरिने छ ।
दुई दिनसम्म चलेको समीक्षा बैठकमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत प्रदेशबाट पोलिटब्युरो, केन्द्रीय कमिटी तथा अन्य विभागमा रहेका नेताहरू, १२ वटै जिल्लाका अध्यक्ष तथा प्रदेश कमिटीका नेताहरू सहभागी रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिनुभयो ।
स्याङ्जा
स्याङ्जाको विरुवा गाउँपालिकामा मिसन ग्रासरुट अभियानको समापन तथा अग्रज कम्युनिष्ट योद्धाहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । पालिका कमिटीद्वारा आयोजित कार्यक्रम अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी पोलिटब्युरो सदस्य लिलाबहादुर थापा मगरको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट्ब्यूरो सदस्य थापामगरले नेकपा एमाले निर्माणमा थुप्रै योद्दाहरूको योगदान रहेको चर्चा गर्दै उहाँहरूका योगदानलाई पार्टीले हर क्षण शीरमा राखेर अगाडि बढ्ने र नयाँ पुस्तालेसमेत त्यसबाट शिक्षा लिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश उप–सचिव रश्मि आचार्यले पन्चायत सरकारले पुष्पलालको अस्तु देश भित्र ल्याउन रोक लगाएको समयमा त्यो कठिन दायित्व वहन गरेर संकटको समयमा कम्युनिष्ट आन्दोलनमा दिएको योगदान स्वर्ण अक्षरले लेखिएको चर्चा गर्दै बिरुवाका अग्रजहरूको योगदान सबैका लागि प्रेरणादायी रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा पालिकाका ८ बटै वडाका ९३ जना अग्रज योद्धाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सचिवालय सदस्य चुन प्रसाद शर्मा, जिल्ला सचिवालय सदस्य सूर्यबहादुर कुँवरले मन्तब्य राख्नुभएको थियो ।
यसैबीच,
स्याङ्जामै मिसन ग्रासरूट अभियानअन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका कमिटीले आज मिसन ग्रासरुट अभियानको समिक्षा बैठक सम्पन्न गरेको छ । पार्टी पोलिटब्युरो सदस्य लिलाबहादुर थापा मगरको प्रमुख आतिथ्यमा र कमिटी अध्यक्ष भरत गोदारको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकलाई सम्बोधन गर्दै पोलिट्ब्यूरो सदस्य थापामगरले अभियानले ग्रासरुट तहमा छुट्टै ऊर्जा पैदा गरेको निश्कर्ष सुनाउँदै यसलाई पुँजीकृत गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । बैठकमा गण्डकी प्रदेश उप–सचिव रश्मि आचार्यले अभियानले पार्टी संगठनलाई लयमा फर्काएकोले यसबाट महत्वपूर्ण शिक्षा ग्रहण गर्दै अब नियमित रूपमा कमिटी सन्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
बैठकले आगामी एक महिना पुतलीबजार विशेष पार्टी सुदृढीकरण अभियान सन्चालन गर्ने निर्णयसमेत गरेको छ ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको पोखरा महानगरपालिका सामाजिक सेवा विभागको आयोजनामा सहिद परिवार, जनआन्दोलनका घाइते र अपाङ्गता भएकाहरूको प्रतिनिधिमुलक उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । छलफलले समस्याहरू बुझ्न र समाधानमा सहयोग गर्ने विश्वास लिइएको छ ।

यसैबीच, केन्द्रीय सदस्य अधिकारीकै आतिथ्यतामा पोखरा महानगरपालिका वडा नम्बर १६ को आयोजनामा मिसन ग्रासरुटको समापन र नयाँ वर्ष –२०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ । अभियान सम्पन्न भए पनि पार्टीका गर्नुपर्ने बाँकी काम नियमित गर्ने निर्णय गर्दै अभियानको समापन गरिएको हो । यस्तै आज आमाको मुख हेर्ने दिनको अवसरमा आमाहरूलाई सम्मानसमेत गरिएको छ ।
नवलपुर
नवलपुर जिल्लाको बुलिङटार गाउँपालिकामा मिसन ग्रासरूट अभियान सकिएको छ । गत फागुृन २५ गतेबाट सुरू भएको अभियान समापन गरिएको हो । अभियानअन्तर्गत समिक्षा बैठकपछि अभियान समापनको घोषणा गरिएको हो । पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा समिक्षा बैठक बसेको हो ।

यस्तै बैठकमा प्रदेश उपाध्यक्ष मोहन रेग्मी, प्रदेश सदस्य गोपेन्द्र केशरी न्यौपाने, टंक गिरी, जिल्ला कमिटी सदस्यहरू दिपक बस्ताकोटी, विद्रोही गिरी, शालिकराम वाग्ले लगाएत नेताहरूको उपस्थिति थियो ।
बैठकले अभियान सफल भएको ठहर गर्दै गर्दै पुराना सम्मान गर्दै नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
चितवन
यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरू हुँदैछ । यसैबीच चितवन २ मा उम्मेदवार रहनुभएका रामप्रसाद न्यौपानेले अन्तिम दिनको घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
उहाँलाई प्रचारप्रसारको अन्तिम दिन मतदाताहरूले फूल मालासहित जितको शुभकामना दिनुभएको थियो । न्यौपाने चितवन–२ का जनताको आशाको केन्द्र भएको भन्दै मतदाताहरूले उहाँ जितपछि बधाई दिन आतुर रहेको बताउनुभयो ।
तनहुँ
यस्तै, तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवार रहनुभएका सर्वेन्द्र खनालले पनि घरदैलो कार्यक्रम समापन गर्नुभएको छ । विजयको आशिर्वाद लिँदै खनालले घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको हो ।
घरदैलोका क्रममा उहाँले आफूले प्रहरी संगठनमा रहँदा जसरी बेतिथि र विसंगतिप्रति शून्य सहनशिलताका साथ काम गरेको स्मरण गर्दै विजयी भएर आएपछि प्रत्यक्षरूपमा जनताको घरदैलोमा पुगेर काम गर्ने, उहाँहरूको समस्या समाधानमा लाग्ने विश्वास दिलाउनुभयो ।
बारा
यसैबीच, बारा २ मा नेकपा एमालेबाट उम्मेदवार रहनुभएका पुरूषोतम पौडेलले पनि प्रचारप्रसार समापन गर्दै जनताको समस्यामा दृढ भएर सदैव लाग्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
बारा २ का जनताले आफूलाई जिताउने विश्वास व्यक्त गर्दै मतदाताको विश्वासमाथि कुठाराघात हुने काम कहिलै पनि नगर्ने बताउनुभयो ।















प्रतिक्रिया