
बारा, ७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफै ढल्ने बताएका छन् ।
बारा निर्वाचन क्षेत्र नं. २ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार सन्ठी जोडेर बनाइएको म्यादी सरकार भएकाले आफै ढल्ने बताएका हुन् ।
सरकार आफै ढल्न लागेको चर्चा गर्दै उनले सरकार ढाल्न कसैले पनि केही गर्न नपर्ने बताए । ‘यो म्यादी सरकार हो । सन्ठी जोडेर बनाइएको म्यादी सरकार यो आफै ढल्छ । मैले हामी ढाल्छौँ भनेको छैन । हामी यो सरकारलाई हात पनि लगाउँदैनौँ, यो आफै ढल्छ,’ ओलीले भने ।
यस्तै उनले गठबन्धनको सरकार रहिरहे वृद्धभत्ता काट्ने दाबी पनि गरेका छन् । ‘२० वर्षमा नभएको काम हामीले तीन वर्षमा गरेका थियौँ । हामीले विकास निर्माणको कामलाई अगाडि बढाइरहेका थियौँ । अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेर चार हजार पुर्याएका थियौँ । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यो सरकार त्यो रोक्न लागिपरेको छ ।’

















प्रतिक्रिया