२९ आश्विन २०८३, बिहिबार

नवलपुरका किशोरीहरूले किन भेटे कानुनमन्त्रीलाई ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ७ वैशाख । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट पोखरा आएका किशोरीहरूसँग गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहाको संवाद कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा मन्त्री गाहाले कानुन बनाएर मात्र बाल अधिकार र सहभागिताको सुनिश्चितता नहुने भएकाले कार्यान्वयन पक्षमा समेत लाग्नुपर्ने बताएका छन् । आज बालबालिकामा गरिने लगानीले भविष्यको सुन्दर देश बनाउन सहयोग गर्ने भएकाले त्यसमा प्रदेश सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

नवलपुरको जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विट्जरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका ४० जना किशोरीहरूले आफूहरूले काम गर्दा आएका विभिन्न विषयहरूलाई प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री गाहाले समाज परिवर्तनका लागि सचेत प्रयत्नलाई जारी राख्न किशोरीहरूलाई अनुरोध गरे ।

किशोरीहरूले कार्यक्रममा मन्त्री गाहालाई १७ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन् ।

के छ ध्यानाकर्षणपत्रमा ?

मिति: २०८० बैशाख ६ गते
माननीय रोशन बहादुर गाहामगर ज्यू
मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
प्रदेश सरकार, गण्डकी प्रदेश, पोखरा

विषय: ध्यानाकर्षण सम्बन्धमा ।

हामी नेपालको कान्छो जिल्ला गण्डकी प्रदेशको नवलपरासी वर्दघाट सुस्तापूर्व (नवलपुर)बाट आएका किशोरीहरूको तर्फबाट यहाँको सफल र पूर्ण कार्यकालको शुभकामना व्यक्त गर्दछौ । साथै हामी तल उल्लेखित किशोरकिशोरी र बालबालिकाका कुराहरूमा ध्यानाकर्षण गराउन चाहन्छौँ ।

१) हाम्रो प्रदेशको बालबालिकासम्बन्धी ऐन आएकोमा हामीलाई खुसी लागेको छ । अव यसको सही रूपमा कार्यान्वयनको लागि स्थानीय तहसम्म नै विभिन्न समितिहरू र संयन्त्रको व्यवस्था गरियोस्् ।

२) बालबालिका राष्ट्रिय गौरव हुन भन्ने नारालाई आत्मसात गरी बालबालिकामा लगानीको सुनिश्चितता गरियोस् ।

३) विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा बालिका तथा किशोरी सरोकार समूहको गठनका साथै प्रत्येक विद्यालयमा स्वास्थ्य र अन्य विषयको लागि विद्यालय स्टाफ नर्स, स्वास्थ्यकर्मी तथा मनोविमर्शकर्ताको व्यवस्था गरियोस् ।

४) शहर सुरक्षित र यातायातका साधनहरू बालबालिकामैत्री, अपाँगतामैत्री, र किशोरीमैत्री बन्नको लागि आवश्यक पर्ने विभिन्न पूर्वाधारहरूको निर्माण गरी सुरक्षित शहरको निर्माणमा पहल गरियोस् ।

५) यस आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत भएका संयन्त्रहरूमा बालिकाहरू र किशोरीहरूको लागि छुटै उप समितिको व्यवस्था गरी हेर्ने बाताबरण मिलाईयोस ।

६) बालिका तथा किशोरीहरूको न्यायमा पहुँचको सुनिश्चितताका लागि बालबालिका र किशोरीमाथि हुने हिंसा, अनलाईन जोखीम र अन्य अपराधका घटनाको अनुसन्धान र न्यायिक प्रकृयाको लागि छिटो र निष्पक्ष कार्यान्वयन हुने संयन्त्रको व्यवस्था गरियोस्् ।

७) स्थानीय र प्रदेश सरकारमा बालबालिका र किशोरी सम्बन्धी ऐन, नियम तथा नियमावली निर्माण गर्दा बालबालिका र किशोरीहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गरियोस्् ।

८) बालिकाहरूलाई भ्रुण अवस्थाबाट सुरक्षित संसारमा आउन र जन्मीसकेपछी पनि उनीहरूको सुरक्षा र संरक्षणमा राज्य प्रतिबद्ध रहने गरी नीतिगत व्यवस्था गरियोस् ।

९) बालमैत्री स्थानीय शासन, किशोरकिशोरी, युवामैत्री र पोषणमैत्रीको प्रबद्र्धन गर्न यो अभियान सबै स्थानीय तहमा विस्तार गरियोस्् ।

१०) अपागँता भएका बालबालिकाहरूको लागि समावेशी शिक्षा, स्वास्थ्य र उनीहरूको पनि अर्थपूर्ण सहभागिताको लागि आवश्यक नीतिगत व्यवस्था सहीत पहल सुरु गरियोस् ।

११) विद्यालय शिक्षालाई पूर्ण रूपमा निशुल्क र हामीले पढ्ने पुस्तकहरूमा बालबालिका र किशोरकिशोरी सम्बन्धी ऐन नियम र कानुनका साथै व्यवहारीक र नैतिक विषयहरू समावेश गरी पठनपाठन गर्ने वातावरण निर्माण गरियोस्् ।

१२) प्रदेश भित्रका सम्पूर्ण भौतिक संरचनाहरूलाई बालमैत्री, किशोरीमैत्री, अपाङ्गतमैत्री, जेष्ठ नागरिकमैत्री, लैंगिकमैत्री बनाईयोस ।

१३) विद्यालयमा उपलब्ध हुने प्याड गुणस्तरीय र सवै सार्वजनिक निकायहरूमा सेनेटरी प्याडको उपलब्धताको लागि नीतिगत व्यवस्था गरियोस् । साथै पुन प्रयोग योग्य कपडाको प्याड बनाउने तालिम समुदायस्तरका किशोरीहरू र महिलाहरूलाई प्रदान गरी उद्यमशिलताको तर्फ अगाडी बढाउने नीति अवलम्बन गरियोस् ।

१४) प्राविधिक तथा माध्यमिक एवम् उच्च शिक्षामा बालिकाहरूको पनि समान पहुँच, अवसर र लैङ्गिक समानतापूर्ण व्यवहारको व्यवस्था गरियोस् ।

१५) बालविवाह र अन्य हानिकारक अभ्यासको अन्त्यको लागि प्रदेश सरकारको रणनैतिक कार्ययोजना निर्माण गरि कार्यान्वयन गरियोस् ।

१६) विशेष पृष्ठभुमीका बालबालिकाको पहिचान सहितको जन्मदर्ताको लागि सहज व्यवस्था गरियोस् ।

१७) हामी किशोरीका लागि देवचुली नगरपालिका र कावासोती नगरपालिकाको समन्वयमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा किशोरी स्रोत तथा सिकाई केन्द्र स्थापना भैराखेको खुसीको कुरा यहाँलाई सुनाँउन चाहन्छौ । यस्तै स्रोत तथा सिकाई केन्द्रहरू यस प्रदेश भित्रका प्रत्येक स्थानीय तहमा स्थापनाका लागि पहल गरियोस् ।

यहाँको कार्य अवधीमा गण्डकी प्रदेशले महशुस र सधै सम्झने गरी बालबालिका तथा किशोरीमैत्री नमूना कार्यक्रम सञ्चालनको सुरुवात गरेको सूचना सुन्न पाउने अपेक्षा सहित यहाँको सफल कार्यकालको लागि शुभकामना सहित महत्वपूर्ण समय उपलब्ध गराई हाम्रो भावना र चाहना सुन्ने र छलफल गर्ने अवसर प्रदान गर्नु भएकोमा माननीय मन्त्रीज्यु प्रती र हामीलाई समन्वय गरेर नवलपुरबाट यस पोखरासम्म ल्याउनुहुने संस्थाप्रती हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।

नेपालको कान्छो जिल्ला नवलपरासी वर्दघाट सुस्तापूर्व (नवलपुर)का बालिका सशक्तिकरण कार्यक्रममा संलग्न किशोरी अभियानकर्ताहरूको तर्फबाट ।

सम्पर्क
जागृति बाल तथा युवा सरोकार नेपाल, नवलपरासी वर्दघाट सुस्तापूर्व (नवलपुर)