
काठमाडौं, ६ वैशाख । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको कारण विकासको काम रोकिएको भन्दै वडाध्यक्षहरूलाई राजीनामा गराउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत साम्पाङले विकासका बाधक बनेका वडाध्यक्षहरूको राजीनामा माग गर्न जनतालाई आग्रह गरेका छन् ।
‘धराने जनता हो… तपाईंहरुको विकास रोकिने भयो ! अब बैठकमा नआउने वडाध्यक्षहरु सबैलाई राजीनामा दिन लगाउनु। म प्रक्रिया मिलाउन सघाउँछु। अनि उपनिर्वाचन गरेर रिक्त वडाध्यक्षहरुको पदपूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ,’ उनले भनेका छन् ।
धरान उपमहानगरपालिकामा मेयर साम्पाङ बाहेक उपमेयरदेखि वडाध्यक्षसम्म सबैजना कांग्रेस र एमालेसहितका दलका छन्। मेयर साम्पाङले वडाध्यक्षहरुसँगको विवादका कारण कार्यपालिका बैठक राख्न सकेका छैनन्।
जसका कारण धरानलाई केन्द्रले पठाएको बजेट कार्यान्वयनमा पनि चुनौती आएको छ।















प्रतिक्रिया