३ कार्तिक २०८३, मंगलबार

चाईना रेलवेद्वारा मधेशमा अवैध उत्खनन् तीव्र, सरोकारवालाको अनदेखा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । महेन्द्र रामार्ग स्तरोन्नतीको ठेक्का पारेर कमला – कञ्चनपुर सडक खण्डको स्तरोन्नती कार्य गरिरहेको छिमेकी मुलुक चीनको चाईना रेलवे नम्बर-२ ईञ्जिनियरिङ् ग्रुप कम्पनी लिमिटेडले मधेश प्रदेशको सिरहा र सप्तरीमा अवैध उत्खननलाई तीव्र पारेको छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, ईञ्जिनियर, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासनलाई प्रभावमा पारेर चिनियाँ रेलवेले मापदण्ड विपरीत अवैध उत्खनन् तीव्र पारेको हो ।

यसबारे सबै जानकार भएपनि सम्बन्धित निकायको मौनता शंकास्पद रहेको सिरहा जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतोले बताए । समन्वय समिति प्रमुख महतोले सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, नरहा गाउँपालिका, गोलबजार नगरपालिका, धनगढी नगरपालिकामा चिनियाँ रेलवेले तीव्र रूपमा अवैध उत्खनन् गरिरहेको छ ।

यसअघि लहान नगरपालिकामा पर्ने सरे देखि चुरेसम्म अवैध उत्खनन् गर्दा समन्वय समितिले उत्खननमा प्रयोग गरिएको जेसीवी नियन्त्रणमा लिएर चाईना रेलवेलाई जरिवाना तिराएको थियो। जिल्ला समन्वय समितीकाअनुसार नगरपालिकासँग डेढ फिट गहिराई र ३ किलो मिटर दुरीमा उत्खनन् गर्ने सम्झौता भएपनि चाईना रेलवेले १३ फिटसम्म गहिराई गरेर उत्खनन् गरिएको भेटिएपछि पटकपटक गरेर १२ लाख जरिवाना गराएको थियो।

हाल कर्जन्हा नगरपालिकाको कमला खोला, मिर्चैया, नरहा, धनगढी र गोलबजार क्षेत्रमा ब्यक्तिको निजी जग्गा भाडामा लिएर रातारात उत्खनन गरिँदै आएको स्थानीयले जानकारी दिएका छन् । त्यस्तै सप्तरीको सुरूङ्गा र फत्तेपुर नगरपालिका क्षेत्रमा पनि चाईना रेलवेले अवैध उत्खनन् गरिरहेको छ ।

अवैध उत्खनन् भइरहेको गोप्य सूचनाको आधारमा सिरहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरू र स्थानीय सञ्चारकर्मीसहितको टोलीले २ पटक अनुगमन गरेको नदीजन्य तथा खानिजन्य उत्खनन् अनुगमन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समितीका प्रमुख महतोले बताए ।

‘कारबाहीको दायरामा ल्याउने निकायले नै मौनता साँधेपपछि उत्खनन् नरोकिएको हो,’ उनले भने। उत्खनन् अनुगमन समितिमा सदस्यका रूपमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, वन तथा भूक्षय कार्यालय लगायत कार्यलयका प्रमुखहरू सदस्य रहने व्यवस्था छ ।

चाईना रेलवेका नेपाल प्रमुख उज्वल पौडेलले यस विषयमा अनभिज्ञता जनाए । आफूलाई उत्खननको बिषयमा कुनै जानकारी नभएको उनी बताउँछन् ।

महेन्द्र राजमार्गको १ हजार २७ किलोमिटर सडक स्तरोन्नती गर्न चाईना रेलवेले नेपाल सरकारसँग ग्लोवल टेण्डर पारेको थियो । जसअन्तर्गत अहिले कमला-कञ्चनपुर ४७ किलोमिटर सडक ग्रामीण क्षेत्रमा ४ लेन र शहरी क्षेत्रमा ६ लेनको स्तरोन्नती कार्य भइरहेको छ । जसको कूल बजेट ३ सय ५० करोड बताइएको छ । सरकारले यो सडक स्तरोन्नतीलाई राष्टिय गौरवको आयोजना समावेश गरेको छ ।