
न्युयोर्क, ४ वैशाख । मे २९ मा न्युयोर्कको ज्याक्सनहाइटको ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राखिने भएको छ । नेपाली आप्रवासीहरुको बाक्लो बसोबास रहेको यस क्षेत्रको स्ट्रीटको नाम प्रख्यात नेपाली पर्वतारोही तेन्जिङ नोर्गेको नाममा राखिने भएको हो ।
ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटलाई ‘तेन्जिङ नोर्गे शेर्पा वे’ नामाकरणका लागि लामो समयदेखि प्रयास हुँदै आएको थियो । शेर्पा किदुगका तत्तकालिन अध्यक्ष उर्गेन शेर्पाले नामाकरणका लागि विशेष पहल गरेका थिए ।

उर्गेनकै नेतृत्पमा यसअघि सन् २०१७ को मे मा ७५ स्ट्रीटको नाम नेपाल झल्किने गरी राख्ने प्रस्ताव गदै २५औँ डिस्ट्रिक्टबाट तत्कालिन सिटी काउन्सिल सदस्य डानियल ड्रम समक्ष लगिएको थियो । त्यसबेला उक्त स्ट्रीटको नाम नेपाल स्ट्रीट, सगरमाथा स्ट्रीट, गौतमबुद्ध स्ट्रीट, लुम्बिनी स्ट्रीट जस्ता नाममध्ये कुनै एक राख्नका लागि प्रस्ताव गरिएको थियो ।
३० एभिन्युबाट उडसाइडसम्मको पूरै स्ट्रीटलाई नेपालीपन झल्किनेगरी नामाकरण गर्ने प्रस्ताव गरिएको थियो । तर त्यसका लागि २२ औं डिस्ट्रिक्टका तत्कालिन सिटी काउन्सिल सदस्य कोस्टा कॉन्स्टेंटिनाइड्सले समेत पहल गर्नुपर्ने र यो क्षेत्र २ वटा डिस्ट्रिक्टभित्र पर्ने भएपछि प्रकिया लम्बिन पुगेको थियो । जसका कारण सन् २०१९ को मार्चमा कोस्टा कॉन्स्टेंटिनाइड्सको पहलमा ३१ एभिन्यु र ७५ स्ट्रीटको कर्नरलाईमात्र माउन्ट एभरेष्ट वे नामाकरण गरिएको थियो । धेरैवटा ब्लकलाई नामाकरण गर्ने प्रकियाका तुलनामा एउटा कर्नरलाई मात्र माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रकिया केही सहज भएकाले त्यतीबेला ‘माउन्ट एभरेष्ट वे’ घोषणा गरिएको थियो ।
त्यसपछि शेर्पा किदुगका तर्फबाट २५ डिस्ट्रिक्टका सिटी काउन्सिल सदस्य ड्रम समक्ष लगिएको प्रस्ताव सेलाएको थियो । पछि पुन: सिटी काउन्सिल सदस्य ड्रम समक्ष ज्याक्सनहाइटको रुजभेल्ट एभिन्युदेखि उडसाइड एभिन्युसम्मको ७५ स्ट्रीटलाई तेन्जिङ नोर्गे शेर्पाको छोटकरी टीएन शेर्पाको नामबाट नामाकरण गर्ने गर्ने प्रस्ताव लगिएको शेर्पा किदुगका तत्कालिन अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिए ।
उनले भने ‘उक्त प्रस्ताव लैजाँदा पनि तेन्जिङ नोर्गे शेर्पा अमेरिकी नागरिक हुनुपर्ने वा अमेरिकामा योगदान गरेको हुनुपर्ने प्रमाणित गर्न भनियो । उनी अमेरिकी नागरिक थिएनन् । उनको योगदान अमेरिकामा के छ भन्ने पनि तत्काल पुष्टि गर्न सकिएन । त्यसपछि दोश्रो प्रस्ताव पनि पारित भएन ।’
त्यसपछि उर्गेन कम्युनिटी बोर्डमा नियुक्त भए लगत्तै उनले स्ट्रीटको नामाकरण बारे थप प्रकियाहरु बुझे । उनी भन्छन् ‘स्ट्रीटको नामाकरण गर्नका लागि विभिन्न सातवटा चरणहरु पूरा गर्नुपर्ने रहेछ । त्यो फर्मुलाका साथ हामी तेश्रोपटक सन् २०२१ मा स्ट्रीटको नाम तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण गर्ने प्रस्ताव लिएर गयौं । नोर्गेको परिवार र छोराछोरीलाई सम्पर्क गर्दा नोर्गेलाई अमेरिकी सरकारले सम्मान गरेको, नोर्गेले अमेरिकामा गरेको योगदानबारे पनि थप जानकारी प्राप्त भयो ।’
सन् २०२१ मा सिटी काउन्सिलमा गएको केही समयपछि उक्त प्रस्ताव पारित भयो । रुजभेल्ट एभिन्युदेखि उडसाइडसम्मको स्ट्रीटलाई नामाकरण गर्ने प्रस्ताव गरिएको भएतापनि ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको २ ब्लकलाईमात्र तेन्जिंग नोर्गे शेर्पा वे नामाकरण गर्ने प्रस्ताव पारित भएको हो ।
त्यसपछि ब्रोडवे, ४१ एभिन्यु र उडसाइड एभिन्युमा तेन्जिंग नोर्गे शेर्पा वेका तीनवटा साइन राख्नका लागि अनुरोध गरिए पनि एउटा साइन भन्दा बढी नहुने भन्ने कानुनमा उल्लेख भएका कारण ४१ एभिन्युमा मात्र एउटा साइन राखिने भएको छ ।
करिब ६ वर्षको प्रयासपछि न्युयोर्कको नेपाली समुदायको विशेष सम्मानमा ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ बन्ने भएको हो ।
७०औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको दिनमा उक्त स्ट्रीटको नाम तेन्जिङ नोर्गे शेर्पा राख्न पाउनु गर्वको विषय रहेको सात पटकसम्म सगरमाथा आरोहण गरेका युएस नेपाल क्लाइम्बर्स एसोसियसनका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक पासाङ शेर्पाले बताए ।
नेपालको पर्यटन प्रर्वद्धनका लागि समेत योगदान दिने उद्देश्यले उक्त दिन स्ट्रीट फेस्टिभल समेत गर्न लागिएको उनले बताए । कार्यक्रमका मुख्य आयोजकमा युएस नेपाल क्लाइम्बर्स एसोसियसन र शेर्पा किदुग अमेरिका रहेका छन् भने अन्य नेपाली संघ संस्थाहरु सहआयोजकका रुपमा रहनेछन् ।
कार्यक्रममा ‘सी टु समिट’ शीर्षकमा हिमाल, पहाड र तराईका सांस्कृतिक प्रस्तुतीहरु देखाइने छ । थारु, नेवारी, मगर, तामा, गुरुङ , राई, लिम्बु, शेर्पा लगायतका संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जानकारी दिएको छ ।
तेन्जिङ नोर्गे शेर्पाको नाम सुन्दा सबै नेपालीको हृदय गर्वले फुल्ने उल्लेख गर्दै शेर्पा किदुगकी पूर्व अध्यक्ष छिरिङ शेर्पाले भनिन्- ‘तेन्जिङ नोर्गे सबै नेपालीका हुन् । सगरमाथा सबै नेपालीहरुको हो । त्यसैले यो नेपालको पहिचान संसारमाझ फैलाउने अर्को मौका हो ।’
तेन्जिङ नोर्गे शेर्पा न्यूजील्याण्डका एडमन्ड हिलारीसँगै सगरमाथाको शिखरमा सन् १९५३ मा पहिलोपटक पुगेको ७०औँ वर्षगाँठका अवसरमा विशेष समारोहकाबीच स्ट्रीटको नामाकरण ‘तेन्जिङ नोर्गे शेर्पा वे’ गरिने भएको हो ।

तेन्जिङको सन् १९८६ मा ७१ वर्षको उमेरमा र हिलारीको सन् २००८ मा ८८ वर्षको उमेरमा निधन भएको थियो ।













प्रतिक्रिया