
काठमाडौं, ४ वैशाख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत नौजनाविरुद्ध करिब ७० करोडको बिगो माग गर्दै विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
२०७६ सालमा निकै चर्चामा आएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस र फ्युल स्टोरेज ट्यांक खरिदमा ठेकेदारसँग मिली कमिसन लिएर दुईवटा ठेक्का सम्झौता र भुक्तानी गरी अनियमितता गरेको अख्तियारको आरोप छ ।
प्रिन्टिङ प्रेस खरिद गर्नुअघि नै विभिन्न बहानामा अस्वाभाविक लागत अनुमान तयार गरी भुक्तानी गरेको भेटिएको हो । सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत सुरक्षण मुद्रण केन्द्रले कानुनविपरीत अस्वाभाविक रूपमा बढी खर्च हुनेगरी ठेक्का लागत अनुमान तयार गरी बोलपत्र (कोटेसन) लिएको भेटिएको हो ।
त्यसैगरी गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेको भेटिएको छ। सम्झौता र सर्तविपरीत अन्य मुलुकको सामान स्वीकार गरेको, कामै नगरी काम भएसरह भुक्तानी भएको, वास्तविक रूपमा आवश्यक नभएको र औचित्य पुष्टि नहुने सामान खरिद भएको भेटिएको हो। प्रिन्टिङ प्रेसलाई चाहिनेभन्दा बढी तयारी देखाई अनेक शीर्षकमा खर्च गरेको पाइएको अख्तियारले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया