२९ आश्विन २०८३, बिहिबार

एमाले उम्मेदवार न्यौपाने भन्छन्– मलाई जिताउनुहोस्, गुनासो गर्ने ठाउँ दिन्न (फोटो/भिडिओ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ वैशाख । नेकपा एमालेबाट चितवन निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने बताएका छन् ।

आफूले जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै मतदातालाई गुनासो गर्ने ठाउँ नै नदिने बताएका हुन् ।

कालिका नगरपालिकाका विभिन्न वडामा आज आइतबार भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवार न्यौपानेले जनताले दिएको विश्वास र भरोसालाई उँचो राख्दै यहाँका नागरिकका परिवारको सदस्य बनेर काम गर्ने बताए । ‘मैले यहाँहरूको विश्वास र भरोसालाई टुट्न दिने छैन,’ न्यौपानेले भने, ‘संसद् चलेको बेलामा भन्दा अन्य बेलामा जनताका पीरमर्का र गुनासा सुन्नका लागि चितवन–२ मा घरदैलोमा समय बिताउनेछु ।’

चितवन बनाउन तथा यो क्षेत्र बनाउन सबैले लामो समयदेखि दु:ख गरिरहेको उल्लेख गर्दै न्यौपोनले जिल्लाको विकास र समृद्धिमा सबैको योगदान रहनुपर्नेमा जोड दिए । ‘जनताको समस्या बाँकी छन्, समस्यालाई सम्बोधन गर्नुपर्नेछ, हामी त्यो अभियानमा केन्द्रित छौँ,’ न्यौपानेले भने, ‘उम्मेदवारको हिसाबले म सूर्य ध्वजाबाहक उम्मेदवार छु, एमालेको उम्मेदवार छु, तर म सबै पार्टीको, सबै नागरिकको मनमनमा रहने भोलि पनि साझा जनप्रतिनिधि बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’

आफूले नैतिकवान समाज, व्यवस्थित समाज र सभ्य समाज निर्माण गर्ने कुरामा अगुवाई गर्ने न्यौपानेले बताए । जिल्लालाई समृद्धि र विकासमा अघि बढाउने कुरामा आफूले अगुवाई गर्ने उनको भनाइ छ । ‘मलाई थाहा छ, किसानहरूका, युवाहरूका, महिलाहरूका थुप्रै समस्या छन्,’ उनले भने, ‘सरकारी सेवामा भएको ढिलासुस्तीले नागरिकमा नैरास्यता पैदा गरेको छ त्यसलाई अन्त्य गर्दै समृद्ध समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाउँछु ।’

अहिले यो उपनिर्वाचन भविष्य निर्माण गर्ने विषय भएको भन्दै न्यौपानेले भने, ‘यो भविष्य निर्माणको अभियानमा हाम्रो सभ्यता कमजोर भयो भने, ठीक जनप्रतिनिधि चुन्न सकेनौँ भने, यही जिल्लाको जनप्रतिनिधि चुन्न सकेनौँ भने हामी कमजोर हुन्छौँ ।’ उनले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै भने, ‘सबैले यसपटक यही जिल्लाको समृद्धि र विकासमा खटिरहेको सूर्य ध्वजाबाहक उम्मेदवार, म राम न्यौपानेलाई विजयी गराउनुहुन अनुरोध गर्दछु ।’

कालिका नगरपालिकामा भएको एमालेको घरदैलो कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री एवम् नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीको समेत सहभागिता थियो । एमालेको घरदैलो अभियान कालिकाका वडा नम्बर १, ४ र ५ मा भएको थियो । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले घरघरमा पुगेर मत माग्नाका साथै विभिन्न स्थानमा भएको कोणसभालाई सम्बोधन समेत गरेका थिए ।