२८ आश्विन २०८३, बुधबार

प्रदूषित सहरको सूची: विश्वकै एक नम्बरमा काठमाडौं

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर रहेको पाइएको हो ।

वायुको गुणस्तर सूचकांक (एक्युआई) मा २०२ अंकसहित शनिबार साँझ काठमाडौं विश्वकै विषाक्त हावा भएको सहर पुष्टि भएको छ । प्रदूषणको हिसाबले काठमाडौंपछि नयाँ दिल्ली, थाइल्यान्डको चियाङमाई, भियतनामको हनोई, थाइल्यान्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं नम्बरमा छन् ।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ । यो मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो । देशका विभिन्न भागमा लागेको डढेलो र यही सिजनमा कृषि अवशेष जलाउने गरिँदा प्रदूषण ह्वात्तै बढेको मानिएको छ ।

प्रदूषणको यो तह जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर मानिन्छ । जनस्वास्थ्यविद् तथा वायु प्रदूषण विज्ञले कम्तीमा मास्क लगाउँदा केही हिसाबले असरबाट बच्न सकिने सुझाव दिएका छन्  । यो स्तरको वायु प्रदूषणका कारण विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्किन र यसबाहेक अन्य उमेर समूहका नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन वातावरण विभागले अपिल गरेको छ ।

गत बिहीबार वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले बारा, पर्सा, चितवनलगायत देशभर १४० भन्दा बढी स्थानमा लागेको डढेलो र कृषि अवशेष बाल्ने जस्ता प्रदूषणका स्थानीय स्रोतका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढेको बताएको थियो ।

वायु प्रदूषणका कारण पछिल्ला वर्षमा नेपालमा श्वासप्रश्वाससम्बन्धी रोग, फोक्सोको क्यान्सरका साथै मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघातका बिरामीको संख्या बढेको पाइएको छ । घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजारको मृत्यु भएको, वायु प्रदूषणजन्य कुल मृत्युमध्ये १९ प्रतिशत ५ वर्षमुनिका बालबालिका हुने गरेको र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका उमेर समूहका रहेको अध्ययनहरूले देखाएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।