२९ आश्विन २०८३, बिहिबार

चितवनमा भ्रम हट्दै गएकाले एमालेको जित हुनेमा विश्वस्त छु : योगेश भट्टराई

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ वैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले आसन्न उपनिर्वाचनमा चितवनका बहुसंख्यक जनताले एमालेको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गरेका छन् ।

भरतपुर–१२ मा पार्टीका स्थानीय कार्यकर्ताले आज शनिबार गरेको चुनावी घरदैलोमा सहभागी हुँदै सचिव भट्टराईले नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएको र त्यो दिनानुदिन हट्दै गएको बताए । ‘यो निर्वाचन क्षेत्र एमालेको राम्रो प्रभाव भएको ठाउँ हो, विगत निर्वाचनमा केही भ्रमहरू सृजना गरिए । अहिले भ्रमहरू हट्दै गएको पाएँ । एमालेको जित हुनेमा विश्वस्त छु,’ नेता भट्टराईले भने ।

जनतामा सुशासनको लोकप्रिय नारा लगाएर मत पाएर गएका व्यक्तिले चार महिनामै आफ्नो चरित्र देखाएको सचिव भट्टराईको भनाइ छ । ‘के–के भन्थे, के–के गरे, सबैले थाहा पाइसक्नुभयो अब भ्रमको पर्दा उध्रिसकेको छ,’ उनले भने ।

मतदाताको चाहनाबमोजिम युवा र परिपक्व उमेदवारका रूपमा पार्टीले रामप्रसाद न्यौपानेलाई अघि सारेको बताउँदै भट्टराईले भने, ‘रामजी यहाँको विकासमा योगदान गर्न सक्ने र जनताको गुनासो सुन्न सक्ने स्थानीय सक्षम युवा हुनुहुन्छ, अहिलेको पुस्ताको भावना बुझ्न सक्ने पार्टीको जिल्ला अध्यक्ष पनि हो उहाँ ।’

समृद्ध नेपाल निर्माण गर्ने ठोस कार्ययोजनासहित एमाले अघि बढेको बताउँदै सचिव भट्टराईले अन्य पार्टीका गतिविधि र कार्यशैलीका कारण जनतामा निराशा छाएको धारणा व्यक्त गरे । जनचाहना अनुरूप समृद्धिको अभियान अघि बढाउन मुलुकको नेतृत्व एमाले पार्टीबाट मात्रै सम्भव रहेको उनको भनाइ छ ।

भरतपुर–१२ एमाले वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्यौपानेको अगुवाइमा पोखरेली टोल, आनन्द टोल, प्रेरणा टोल क्षेत्रमा चुनावी घरदैलो गरिएको थियो । कमिटीले वडाका विभिन्न टोलमा तालिका बनाएर दिनहुँ घरदैलो गरिरहेको सचिव शोभा पण्डितले जानकारी दिइन् ।