७ कार्तिक २०८३, शनिबार

उदयपुरको दुई गाउँपालिकामा हाटबजार सुरु

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कटारी, २ वैशाख । उदयपुर जिल्लाको पहाडी भेगमा रहेको दुई स्थानमा हाटबजार सुरु गरिएको छ । नयाँ वर्षको अवसर पारेर जिल्लाको लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले हाटबजार सुरु गरेका हुन् ।

लिम्चुङबुङको केन्द्र बाराहाको कटुवाल भञ्ज्याङस्थित राइचोकमा शुक्रबारदेखि पाँच दिने हाटबजार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।

“गाउँपालिकालाई समृद्ध बनाउन स्थानीय कृषकले उत्पादन गरेको उत्पादनलाई बजारीकरण गर्न हाटबजारको आयोजना गरेका हौँ”, अध्यक्ष राईले भने, “यहाँको अर्गानिक उत्पादन जिल्ला सदरमुकाम गाईघाटसम्म माग बढ्दो छ ।”

हाटबजारमा आलु, काउली, केरा, खुर्सानी, सागलगायतका उत्पादनको किनबेच भइरहेको हाटबजार व्यवस्थापन समितिका संयोजक कर्णशेर राईले बताए ।

त्यसैगरी अर्को पहाडी भूभागमा पर्ने माझ खर्कमा पनि शुक्रबारदेखि हाटबजार सुरु भएको छ ।रौतामाई गाउँपालिका–१ मा पर्ने माझ खर्कमा द्वन्द्वकालपछि पहिलो पटक नयाँ वर्षको अवसर पारेर हाटबजार लगाउन सुरु गरिएको हो । जिल्लाको पहाडी भूभागको मध्यभागमा पर्ने माझ खर्कमा द्वन्द्व सुरुभएपछि त्यहाँको हाटबजार बन्द भएको थियो । शुक्रबारदेखि हरेक महिनाको १ र १५ गते नियमित हाटबजार लाग्ने गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए ।