शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

‘गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरूपयोगमा सक्रिय छ’

केपी शर्मा ओली २०८० वैशाख १ गते १९:३३

केपी शर्मा ओली

आज विक्रम संवत् २०८० को पहिलो दिन, अर्थात् वैशाख १ गते। यस दिनलाई हामी नेपालीले आफ्नो मौलिक परम्परा अनुरूपको नयाँ वर्षको पहिलो दिनको रूपमा मनाउँदै आएका छौं ।

यस सुखद अवसरमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हाम्रो तीव्र दवावका कारण संविधान प्राप्तिपछिको दोस्रो स्थानीय, प्रदेशसभा र संघीय तहको आम निर्वाचन यही बीचमा सम्पन्न भयो । नेकपा (एमाले) ले सिद्धान्तहीन राजनीतिक सिण्डीकेटको आधारमा बनेको सत्ता गठबन्धनसँग एक्लै चुनावको सामना गर्नु पर्‍यो ।

हामीले सरकार छोडेसँगै अवरुद्ध भएको राष्ट्रहित संरक्षण, सुशासन, विकास र समृद्धिको यात्रा पुन: अघि बढाउन राजनीतिक स्थिरता आवश्यक थियो । तर निर्वाचन एजेण्डामा आधारित नभएर सिद्धान्तहीन गठबन्धन गरी सत्ता हत्याउने औपचारिकतामा मात्र सीमित हुन पुगेकाले राजनीतिक स्थिरताको दृष्टिकोणबाट बितेको वर्ष सुखद रहन सकेन ।

निर्वाचनपछि नेकपा (एमाले) ले मुलुकलाई स्थिर राजनीतिमा फर्काएर अवरुद्ध रहेको विकास र समृद्धिको यात्रा अघि बढाउने प्रयास गरेको थियो । तर बारम्बार प्रकट हुने अवसरवादी चरित्रका कारण हाम्रो उक्त प्रयास सफल हुन सकेन र मुलुकमा निर्माणको प्राथमिकताबाट विमुख, भ्रष्टाचार, कुशासन, विसंगति, बेथिति र अस्थिरताका पुराना दु:षित खेलको पुनरावृत्ति हुन पुग्यो ।

बितेको वर्षमा भएको आम निर्वाचनबाट हामीले चाहेजस्तो बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्दा गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरूपयोगमा सक्रिय छ । राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कुटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ । केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहस सेलाएको छ र त्यसको ठाउँमा सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहन मौलाएको छ । यस्ता कुराहरूलाई सामान्य र स्वाभाविक रूपमा लिन थालिएको छ ।

यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख छ । राज्यको ढुकुटी ऋणात्मक बन्न पुगेको छ । हामीले नागरिकहरूको सामाजिक सुरक्षाका लागि सुरु गरेका कार्यक्रमहरू बन्द गर्ने बहस सत्तापक्षले बाहिर ल्याइरहेको छ। हाम्रो नेतृत्वको सरकारले दुरुस्त छोडेको अर्थतन्त्र भत्किएको छ । तर गठबन्धनवालाहरूको ध्यान भने आर्थिक समस्या समाधानमा भन्दा आफ्नै स्वार्थसिद्धिमा केन्द्रित छ । मूल्य वृद्धिदर हाम्रो सरकारको समयमा भन्दा दोब्वर भएको छ ।

बैंकिङ प्रणालीवाट बाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन । तरलताको संकट भयावह हुँदैछ । आर्थिक मन्दी र वित्तीय अराजकताले नागरिकहरू चरम रूपमा निराश हुन थालेका छन् । सरकार यसको कारणको खोजीमा होइन, भागबण्डामा राज्य दोहनको तारतम्य मिलाउनै व्यस्त छ। यसले देशको अर्थतन्त्र धराशायी बन्दै गएको छ ।

एमाले विरुद्ध महागठबन्धन निर्माण गरी भएको चुनावमा पनि जनताको विश्वासका कारण नेकपा (एमाले) पहिलो लोकप्रिय राजनीतिक दलको रूपमा रहन सक्यो । अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र राजनीतिलाई झन् अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनु पर्दछ ।

मुलुक निर्माणको स्पष्ट दृष्टिकोण, दिशा र कार्यक्रम रहेको पार्टी नेकपा (एमाले) लाई बलियो नबनाई राजनीतिक स्थिरता सम्भव छैन र राजनीतिक स्थिरता बिना विगतमा हामीले थालनी गरेका विकास र समृद्धिका कार्यक्रमहरू अघि बढ्न सक्दैनन् । बलियो राष्ट्रिय शक्ति निर्माणले नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुश्प्रयासहरूलाई परास्त गर्दै विकास र समृद्धि तर्फको यात्रामा मुलुकलाई अघि बढाउन सम्भव हुन्छ । त्यसका लागि जनतालाई आफू र आफ्ना सन्ततिको सुनिश्चित भविष्यप्रति आश्वस्त बनाउनु पर्छ। जनतामा पैदा भएको निराशा चिर्दै बलियो राष्ट्रिय शक्ति मार्फत मुलुकलाई अघि बढाउन नेकपा (एमाले) सक्रिय छ ।

हामीले बितेको वर्षका अन्तिम दुई महीना नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न ‘मिसन ग्रासरुट’ अभियान थालनी गरेका छौं । सिद्धान्तहीन सिण्डीकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न, सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्न नेकपा (एमाले)लाई बलियो बनाउन यस अभियानले मद्दत पुग्ने छ ।

नयाँ वर्षको यस अवसरमा म समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने हाम्रो गन्तव्यमा साथ र सहयोग प्रदान गर्न आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु ।

नयाँ वर्ष संवत् २०८० को पुन: हार्दिक शुभकामना ।
१ वैशाख २०८०

(नेकपा एमालेका अध्यक्ष केपी केपी शर्मा ओलीले नयाँ वर्ष २०८० को अवसरमा आज (वैशाख १ गते) जारी गरेको शुभकामना सन्देश ।)

प्रतिक्रिया
सम्बन्धित