
काठमाडौं, १ वैशाख । नेपाल पत्रकार महासंघले विक्रम सम्वत २०७९ साल नेपाली पत्रकारिता क्षेत्रका लागि निकै चुनौतीपूर्ण वर्ष बनेको बताएको छ ।
वर्ष २०७९ को विदाई र नयाँ वर्ष २०८० को शुभारम्भको अवसरमा विज्ञप्ति जारी गर्दै महासंघले पत्रकारिता क्षेत्र चुनौतीपूर्ण स्थितिबाट गुज्रिएको बताएको हो ।
‘विक्रम संवत २०७९ साल नेपाली पत्रकारिता क्षेत्रका लागि थप चुनौतीपूर्ण वर्ष रह्यो । श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि श्रमको दीर्घकालीन समस्या समाधानमा कुनै पनि प्रकारको पहल भएन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा कमी आए पनि जननिर्वाचित संस्था संविधान कार्यान्वयनका लागि बनाउन पर्ने कानून निर्माणमा उदासिन भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, नेपाल पत्रकार महासंघमा अभिलेखीकरण भएअनुसार २०७९ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का ५१ वटा घटना भएका छन् । पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका हुन् ।
‘श्रमजीवी पत्रकारले नियुक्तिपत्र नपाउने, तलब नपाउने, सेवा सुविधा नपाउने र जबरजस्ती जागिरबाट निकालिनेलगायत समस्या २०७९ सालमा दोहोरिएका छन् । श्रम समस्याको दीर्घकालीन समाधानमा नेपाल पत्रकार महासंघले निरन्तर नीतिगत पहल, खबरदारी, आन्दोलन र कानूनी लडाइँ जारी राखेको छ । तर, श्रम समस्याको स्थायी समाधानका लागि सरकार गम्भीर हुन सकेन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल २०७९ सालमा सकिएको छ । पाँच वर्षको अवधिमा आम सञ्चार ऐनलाई कार्यान्वयन गर्नका लागि बन्नुपर्ने एउटा बाहेक कुनै पनि कानून बन्न नसकेकोप्रति महासंघले दु:ख व्यक्त गरेको छ । तीनवटै तहमा नयाँ सरकार बनेपछि महासंघकै पहलमा सञ्चार कानून निर्माणको काम अगाडि बढेको छ । तर, त्यस्ता कानूनहरु संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा महासंघले आफ्नो प्रष्ट दृष्टिकोण राखेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ वर्ष २०८० सालमा महासंघले सञ्चारसम्बन्धी बन्नुपर्ने कानून निर्माण, श्रमजीवी पत्रकारका समस्याको दीर्घकालीन समाधानको प्रयास, पत्रकारका लागि कल्याणकारी काम र मिडिया क्षेत्रमा देखिएका विभिन्न प्रकारका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेको महासंघले जनाएको छ ।















प्रतिक्रिया