
झापा, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायिकीकरण गर्ने तथा उत्पादन र उत्पादकत्व उल्लेख्य मात्रामा बढाउनु छ भने सहकार्य र सहकारीको माध्यमबाट अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
दक्षिण एशियाली किसान महासंघको क्षेत्रीय सम्मेलनलाई हिजो बुधबार झापामा सम्बोधन गर्दै उनले सानो मात्राको उत्पादन भइरहँदासम्म नेपालमा बजारको समस्या भइरहने बताएका हुन् । थोरै–थोरै उत्पादनको परिमाणलाई धेरै बनाउनका लागि सहकार्य र सहकारीको बाटो अपनाउनुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय अर्थतन्त्रमा कृषि उपजको भूमिका क्रमश: घटिरहेको र अन्य क्षेत्रका प्रतिफलहरूले बढी स्थान ओगटिरहेको भए पनि अझै ६० प्रतिशत भन्दा बढी जनता कृषिमा आधारित रहेको उनले बताए । ठूलो मात्रामा उत्पादन गरियो भने आजको विश्वमा बजारको कुनै समस्या नहुने अध्यक्ष ओलीको भनाइ छ ।
‘नेपाल कृषिप्रधान देश हो अरु पनि छन् । उनीहरू कृषिबाट अरु क्षेत्रमा सिफ्ट गर्दैछन् । आधुनिकीकरण र औद्यौगिकरणतर्फ उन्मुख हुँदै गएको छन्,’ अध्यक्ष ओलीले भने, ‘खासगरी दक्षिण एशिया औद्योगिकरणतर्फ, आधुनिकीकरणतर्फ र व्यावसायिकीकरणतर्फ लागिरहेका छन् । नेपालको पनि कृषिमाथिको परनिर्भरता क्रमश: घट्दै गएको छ । राष्ट्रिय अर्थतन्त्रमा कृषि उपजको भूमिका क्रमश: घटिरहेको छ भने अन्य क्षेत्रका प्रतिफलहरूले बढी स्थान ओगट्दैछन् यो सकारात्मक कुरा हो ।’















प्रतिक्रिया