
काठमाडौं, २८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी कानुन संशोधन गर्दा र शान्ति प्रक्रिया टुङ्याउँदा पीडितका आवाज सुन्नुपर्ने, अन्तर्राष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको फैसलालाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको पहलमा आज मंगलबार भएको शीर्ष नेताहरूबीचको छलफलमा उनले संसदमा प्रस्तुत भएकोे विधेयक समितिमा लगेर छलफल गरेपछि मात्रै टुङ्गो लगाउनुपर्नेमा एमालेको अडान कायमै रहेको बताएका हुन् ।
सभामुख घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी कानुन संशोधनका विषयमा औपचारिक छलफल सुरु भएको हो ।
तीन नेताबीच बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकका विषयमा छलफल भएको हो । बैठकमा बैठकमा संसदीय सुनुवाइ समिति गठनका विषयमा पनि छलफल भएको थियो ।
बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।
शीर्ष नेताहरूको अर्को बैठक आगामी २०८० वैशाख १ गते बस्ने भएको छ ।















प्रतिक्रिया