२८ आश्विन २०८३, बुधबार

क्रिकेट रंगशाला निर्माण प्रक्रिया अझै अन्योलमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ चैत । आफ्नै घरछेउमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन श्रमदान र आर्थिक सहयोग जुटाउन सक्रिय रहेका भरतपुर महानगरपालिका–१६ का कृष्ण कँडेल आर्थिकलगायत कारणले बीचमै निर्माण प्रक्रिया रोकिएपछि चिन्तित बनेका थिए । तर रंगशाला बनाउने जिम्मा सरकारले लिने भनेपछि उनी खुसी देखिएका छन् । ‘राज्यले नै रंगशाला बनाउने निर्णय गरेपछि म मात्रै होइन, पश्चिम चितवनवासी खुशी भएका छौं,’ रंगशालाको पाँच सय मिटरमा घर भएका कँडेलले भने, ‘सरकारले छिटो रंगशाला बनाएर अन्तराष्ट्रियस्तरको खेल भएको हेर्ने धोको छ ।’

सरकारले हालै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने निर्णय गरेको छ । रंगाशाला निर्माण थालेको धुर्मुस–सुन्तली फाउन्डेसन आर्थिक अभावको कारण देखाउँदै पछि हटेपछि प्रक्रिया रोकिएको थियो । यस्तो अवस्थामा रंगशालाको स्वामित्व लिएर निर्माण प्रक्रिया अघि बढ्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि चितवनवासी खुशी भएका हुन् ।

भरतपुर महानगरपालिकाको १५ नम्बर वडामा निर्माणाधीन रंगशालाको काम गत असोजदेखि रोकिएपछि स्थानीयवासी निराश थिए । धुर्मुस–सुन्तली फाउन्डेसनले चन्दा उठाएर क्रिकेट रंगशाला बनाउने अभियान थालेको थियो । अपेक्षित आर्थिक सहयोग नउठेपछि निर्माणकै क्रममा फाउन्डेसन पछि हटेको थियो । फाउन्डेसनले रंगशालाको स्वामित्व लिन गत पुसमा भरतपुर महानगरपालिकालाई पत्र लेखेको थियो । महानगरपालिकाले भने कानुनी जटिलता देखाउँदै रंगशालाको स्वामित्व ग्रहण गरेको छैन ।

गत साताको सोमबार संघीय मन्त्रिपरिषद्ले रंगशालाको स्वामित्व लिने निर्णय गरेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल बताउँछिन् । ‘संघीय सरकारले एक किसिमबाट स्वामित्व ग्रहण गर्ने भनेको छ’,उनले भनिन्, ‘अब रंगशालाको काम आगाडि बढ्छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले भने क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने विषय स्वीकृत भइनसकेको बताए । ‘चितवनको क्रिकेट रंगशालाको विषयमा क्याबिनेटमा छलफल भएको बुझिएको छ,’ती कर्मचारीले भने, ‘स्वामित्व लिने निर्णयमा हस्ताक्षर भएर आएको छैन । हामी यही हो भन्ने अवस्थामा छैनौं ।’

फाउन्डेसनले रंगशाला निर्माण २०७५ माघ १६ गते सुरु गरेको हो । ३० हजार दर्शक क्षमताको रंगशाला बनाउने योजनाअन्तर्गत पहिलो चरणमा तीन हजार दर्शक बसेर खेल हेर्न मिल्ने प्यारापिट बनेको छ । प्यारापिटका दुई सय ८६ वटा पिलर उठाइएको छ । प्यारापिट तयार गरी भिआइपी टावर बनाउन थालिएको थियो । टावर ‘वान’को पिलर उठाइसकेर बिम ढलान भएको छ । दोस्रो टावरको काम हुँदै गर्दा फाउन्डेसन आर्थिक संकटको कारण देखाउँदै निर्माण प्रक्रियाबाट पछि हटेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।