३० आश्विन २०८३, शुक्रबार

मिसन ग्रासरुट : गौरीशंकर गाउँपालिकामा छायाँ सरकार गठन, अरु कहाँ–कहाँ के–के भए ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत आज पनि विभिन्न जिल्लाका स्थानीत तहहरूमा कार्यक्रमहरू भएका छन् ।

अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?

कालिकोट

मिसन ग्रासरुट अभियानअन्तर्गत कालिकोटको पलॉतामा पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकास्तरीय जनसभा सम्पन्न भएको छ । पार्टी सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यता र पलॉता गाउँपालिका कमिटीका अध्यक्ष हर्षबहादुर बमको अध्यक्षतामा जनसभा सम्पन्न भएको हो ।

भेलालाई सचिव भट्टराई, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्यहरू विष्णु रिजाल, दल रावल र नगेन्द्र शाही (नेशनल) लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो । पलॉता गाउँपालिका कमिटीका अध्यक्ष हर्षबहादुर बमको अध्यक्षतामा आयोजित सभामा स्थानीय महिलाहरूले देउडा गाएर स्वागत गर्नुभएको थियो ।

तनहुँ

आगामी वैशाख १० गते हुने तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले) तनहुँले निर्वाचन परिचालन समिति गठन गरेको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत पार्टी कार्यालय दमौलीमा पार्टी स्थायी कमिटी सदस्य किरण गुरूङको प्रमुख आतिथ्यतामा बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला सह– इन्जार्च भगवती न्यौपानेको संयोजकत्वमा १ हजार ५ सय सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

कमिटीमा सम्बन्धित क्षेत्रका जिल्ला कमिटीका पदाधिकारीहरू, जिल्ला कमिटीका सदस्यहरू, नगरकमिटीका पदाधिकारी तथा सदस्यहरू, जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरू एवम् पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू सदस्य रहनुहुनेछ । बैठकले निर्वाचन प्रचारको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बैशाख १ गते बन्दिपुरमा पालिकास्तरीय र बैशाख ५ गते दमौलीमा क्षेत्रीय स्तरको चुनावी सभा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटीका सदस्य गुरुङले उपनिर्वाचनको परिणामलाई एमालेको पक्षमा पार्ने गरी सबै कार्यकर्ता एकताबद्ध भएर खटिन आग्रह गर्नुभयो । बैठकलाई पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, प्रदेश सचिवालय सदस्य केदार सिग्देल लगायत नेताहरूले पनि सम्बोधन गर्नुभएको थियो ।

सुर्खेत

नेकपा एमालेले सुरु गरेको पार्टी विस्तार तथा सुदृढीकरण अभियान मिसन ग्रासरूटअन्तर्गत सुर्खेतको पञ्चपुरी नगरपालिकाको नगर कमिटीको १४औं बैठक सम्पन्न भएको छ । बैठक पार्टी स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फे र नगर कमिटी अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकमा पालिका भित्र रहेका ११ वटा वडाका वडा कमिटी अध्यक्षहरूले वडामा भएका पार्टीका विभिन्न गतिविधि, संगठित सदस्य, नवीकरणको संख्या, नविकरण हुन बाँकी, पार्टी परित्याग गर्नेहरूको संख्याकोबारेमा जानकारी दिनुभएको थियो । यस्तै, मिसन ग्रासरूटका लागि जिल्लाबाट खटिनुभएका जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधिहरूले आफ्नो भागमा परेका वडामा भएका पार्टीका गतिविधिहरूको बारेमा रिर्पोटिङ गर्नुभएको थियो ।

बैठकमा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा मिसन ग्रासरूटका लागि कर्णाली प्रदेश अनुगमन संयोजक तुम्बाहाम्फेले पार्टी सदस्यता नवीकरण मात्रै नभई अब आउने २०८४ सालको निर्वाचनमा स्थायित्व र बहुमत ल्याउनु पर्ने भएकोले सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । उहाँले मिसन ग्रासरूट अभियानमा पालिकाको मेहतन धेरै भएको तर, नतिजा कम आएकोले अब नतिजा पनि बढाउनु पर्ने धारणा राख्नुभयो ।

यस्तै, नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष तथा मिसन ग्रसरूट अभियानका केन्द्रीय प्रतिनिधि विनोदकुमार शाहले वडा कमिटी अध्यक्ष, जिल्ला र प्रदेश प्रतिनिधिले राखेका रिपोर्ट सन्तोषजनक भएको बताउनुभयो । उहाँले सदस्यता नवीकरण गर्न बाँकी रहेका सदस्यहरूको यहीँ चैत २४ गते भित्र गरिसक्न सबै वडाहरूलाई निर्देशन दिनुभयो ।

स्याङ्जा

मिसन ग्रासरुट अभियानअन्तर्गत स्याङ्जाको विरुवा गाउँ पालिकाको बडा नम्बर ७ र ८ को वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ७ का अध्यक्ष रीमबहादुर गुरुङको अध्यक्षता र अभियानका केन्द्रीय प्रतिनिधि एवम् पार्टी पोलिटब्युरो सदस्य लिलाबहादुर थापा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

पोलिट्ब्यूरो सदस्य थापाले नेकपा एमाले कम्युनिष्ट आन्दोलनका विभिन्न धाराहरूको एकीकृत रूप रहेको बताउनुहुँदै एमाले बलियो बन्दा मात्रै देशमा स्थिरता आउने तथा समृद्धिको आकाङ्क्क्षा पूरा हुने बताउनुभयो । प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मि आचार्यले मिसन ग्रासरुट अभियान जनसरोकारका थुप्रै मुद्दासँग पार्टीलाई जोड्ने महत्वपूर्ण अवसर भएको औल्याउंदै यसबाट पार्टी थप सुदृढ हुने धारणा राख्नुभयो ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य सुर्यबहादुर कुँवर, पालिका अध्यक्ष प्रकाश थापा, सचिव गोपाल कोइराला, उपसचिव नविन आले लगायत नेताहरूले धारणा राख्नुभएको थियो ।

मोरङ

मिसन ग्रासरूट अभियानअन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी पोलिट्ब्यूरो सदस्यद्वय जितु गौतम र हर्कराज राईको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पालिका सभादल गठन गर्नुका साथै जनप्रतिनिधि समन्वय संयन्त्रसमेत गठन गरिएको छ ।

कास्की

मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको नेकपा एमाले पोखरा महानगरपालिकाको कार्यलय (पदाधिकारी) को बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको आतिथ्यतामा बसेको बैठकले हालसम्मको कामको सक्षिप्त समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गरेको छ ।

यस्तै, पदाधिकारीहरू पर्वत पुगेर पार्टी केन्द्रीय सदस्य एबम प्रदेश सभाको सदस्य गाविन्द नेपालीको ममतामयी माताको निधनमा दुख ब्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकटसमेत गर्नुभएको छ ।

रूपन्देही

मिसन ग्रासरूट अभियानअन्तर्गत रूपन्देहीको देवदह नगरपालिकामा जनप्रतिनिधि र पार्टीको अन्तरसम्बन्धका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमासमेत खटिनुभएका पार्टी केन्द्रीय सदस्य सरिता खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य खनाल, जिल्ला कमिटी रूपन्देहीका अध्यक्ष तेजेन्द्र कसीलगायत नेताहरूले प्रशिक्षाणत्मक मन्तव्य राख्नुभएको थियो ।

बाँके

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ र २ को वडास्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय सदस्य कोमल ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता गाउँपालिका कमिटी अध्यक्ष पंचराम यादवको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य ओली, प्रदेश कमिटी सदस्य अक्रम अन्सारी, जिल्ला सदस्य कृष्ण थापा लगायत नेताहरूले प्रशिक्षण दिनुभएको थियो ।

नवलपरासी

मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपरासी जिल्लाका स्थानीय पालिकाभित्रका वडाहरूमा तीव्र गतिमा कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यसैबीच, कावासोती नगरपालिका वडा नम्बर ८ मा पार्टी केन्द्रीय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा विस्तारीत बैठक सम्पन्न भएको छ ।

विस्तारीत बैठकलाई सम्वोधन गर्दै केन्द्रीय अभियान्तासमेत रहनुभएका पार्टी केन्द्रीय सदस्य भीम कार्कीले पार्टी सदस्यता नवीकरण तथा प्रदान गर्ने, टोल कमिटिहरू गठन तथा पुनर्गठन गर्ने, पार्टी सदस्यतालाई व्यवस्थित गर्ने, स्थानीय समस्याहरू बुझ्ने र सोको सामाधान गर्न पहल गर्ने जसले गर्दा पार्टी प्रत्यक्षरूपमा स्थानीय जनतासँग जोडिने बताउनुभयो ।

बैठकमा एमाले केन्द्रीय लेखा आयोगका सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य पद्मा जि.सी.ले पार्टीलाई चलायमान बनाउन र तल्लो तहसम्म पुर्‍याउन अभियान संचालन गरीएको जानकारी दिनुभयो ।

दोलखा

दोलखामा नेकपा एमाले गौरीशंकर गाउँपालिका संगठन कमिटीले छायाँ सरकार गठन गर्दै मिसन ग्रासरुट कार्यक्रम समापन गरेको छ । गत चैत ११ गतेदेखि सुरु भएको वडास्तरीय प्रशिक्षणात्मक कार्यक्रममा पालिका तथा वडागत तहमा छाँया सरकार गठन गर्दै कार्यक्रम समापन गरिएको हो ।

गत फागुन २७ गते बसेको पालिका कमिटीको बैठकले निर्णय गरे बमोजिम १ देखि ९ नम्बर वडासम्म संगठन विस्तार र प्रशिक्षणात्मक कार्यक्रम गरेको हो । कार्यक्रमबाट संगठन सुदृृद्धीकरण, वडागत रिर्पोटिङ, संगठित सदस्यता नविकरण र संगठनलाई पुनर्गठन समेत गरिएको छ ।

अभियानमा केन्द्रीय सदस्य गोविन्दप्रसाद दुलाल वागमती प्रदेश कमिटीका सदस्य गणेशबहादुर कार्की, उर्मिला थामी, पालिका कमिटीका अध्यक्ष जङ्ग गुरुङलगायत नेताहरू खटिनुभएको थियो ।

नुवाकोट

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ र वडा नम्वर ८ को वडा भेला सम्पन्न भएको छ । भेलामा बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेय, जिल्ला कमिटी सदस्यहरू, पालिका अध्यक्ष, वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

भेलामा हालसम्म भएका कामहरूको प्रगति विवरण पेश गरिएको थियो । भेलाले बांकी सदस्यता नवीकरण गर्ने साथै नयाँ सदस्यता वितरणलाई तीव्रता दिने निर्णय भएको छ ।

अभियानका लागि जनसंगठनहरूलाई परिचालन गर्ने जनसंगठन निर्माण हुन बाँकी रहेकाको ४ दिनभित्र निर्माण गरिसक्ने, आगामी चैत्र २५ र २६ गतेको अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलनपछि प्रशिक्षण कार्यक्रम राख्ने निर्णय पनि भेलाले गरेको जानकारी दिइएको छ ।

पर्वत

मिसन ग्रासरुटअन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं ४ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यद्वय विकास लम्साल र भक्त कुँवर, जिल्ला कमिटी अध्यक्ष राजुप्रसाद पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा लगायत नेताहरूले प्रशिक्षण दिनुभएको छ । कार्यक्रमकै क्रममा वडाका ३ जना अग्रज व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ ।

म्याग्दी

मिसन ग्रासरुट अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–६ मा अन्तरक्रिया तथा समिक्षा बैठक सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष गणेश बानिँयाको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनको नवीकरण तथा नयाँ सदस्या वितरणसमेत गरिएको छ ।

कार्यक्रममा सहभागी नेताहरूले मिसन ग्रासरुटले नेकपा एमालेको सिंगो परिवार पारस्परिक एकताका साथ अगाडि बढ्नुपर्ने, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।